कञ्चनपुर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरका संस्थापक नेतासमेत रहेका प्रीतम बहादुर सिंहले भीमदत्त नगरपालिका–३ को वडाध्यक्ष पदका लागि पार्टीको ‘क्यान्डिडेट क्लब’ मा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
भीमदत्त नगरपालिका–३ निवासी सिंह वाणिज्य संकायमा प्रवीणता तहको अध्ययन पूरा गरी विद्यालयमा अध्यापनरत थिए। शिक्षण पेसासँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका उनी समाजमा सकारात्मक परिवर्तनका लागि सदैव अग्रसर रहने युवाका रूपमा आफ्नो पहिचान समेत बनाएका सिंह द्वन्दकालमा नेकपा माओवादीबाट पिडित भएको भन्दै बैदेशिक रोजगारीमा पलायन हुन बाध्य भए, आफू बैदेशिक रोजगारमा भएपनी समाजमा हुने हरेक क्रीयाकलापमा आफ्नो सोच र क्षमता प्रस्तुत गर्दै गरेका सिंहले अन्ततः रास्वपाको स्थापनासंगै राजनितिकको माध्यमबाट समाजमा रहेका विकृती, विसङगती तथा भष्ट्राचारको अन्त्य गर्दै शैक्षिक, सामाजिक तथा बिकासका हिसाबले नमुना वडा बनाउने अठोट सहित वडा राजनितिमा आफ्नो पार्टीले जारी गरेको क्यान्डिडेट क्लबमा उम्मेदवारी पेश गरेको बताए।
वडा नम्बर ३ मा राम्रो सामाजिक छवि बनाएका सिंहले वडाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेपछि स्थानीयस्तरमा उनको चर्चा हुन थालेको छ। एक स्थानीय युवा नेताका अनुसार वडामा सामाजिक रूपमा परिचित र सक्रिय युवाले उम्मेदवारी अघि सारेपछि स्थानीयवासीमा उत्साह देखिएको छ। ‘आफ्नै वडामा राम्रो छवि भएका युवा वडाध्यक्षको उम्मेदवारका रूपमा अघि सर्नु सकारात्मक कुरा हो,’ रास्वपा भीमदत्त–३ का एक युवाले निश्पक्ष आवाज अनलाइनसँग भने।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयले इच्छुक उम्मेदवारका लागि ‘क्यान्डिडेट क्लब’ मार्फत आवेदन खुला गरेको समेत लामो समय भईसकेको छ। पार्टीले पालिका तथा वडास्तरमा उम्मेदवारी दिन इच्छुक व्यक्तिलाई अनलाइनमार्फत आफ्नो उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरेको छ।
क्यान्डिडेट क्लबमा उम्मेदवारी दर्ता गराएका व्यक्तिहरूमध्ये उपयुक्त उम्मेदवार छनोट गरी पार्टीले निर्वाचनका लागि टिकट प्रदान गर्ने यसअघि नै पार्टी कार्यालयले जनाएको छ। यस व्यवस्थाले इच्छुक व्यक्तिलाई प्रारम्भिक चरणबाटै उम्मेदवारी प्रस्तुत गर्ने अवसर दिएको छ।यसैबीच, आगामी स्थानीय तह निर्वाचन वि.सं. २०८३ को अन्त्यतिर हुने चर्चा भइरहे पनि सरकारले हालसम्म निर्वाचनको आधिकारिक मिति घोषणा गरेको छैन। निर्वाचनको औपचारिक मिति तय भइनसकेको अवस्थामा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्ने र चुनावी गतिविधि अघि बढाउने क्रम भने बढ्दै गएको छ।


टिप्पणी