महेन्द्रनगर – महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीको प्राङ्गणमा सञ्चालित विद्यालयस्तरीय टी–१० क्रिकेट प्रतियोगिता ‘लिटिल बुद्ध कप – सिजन १’ को उपाधि एलबिए च्यालेन्जर्सले जितेको छ । रोमाञ्चक फाइनल खेलमा एलबिए ब्लाष्टर्सलाई ५ विकेटले पराजित गर्दै च्यालेन्जर्सले पहिलो संस्करणको उपाधि आफ्नो नाममा पारेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एलबिए ब्लाष्टर्स १० ओभरको खेलमा जम्मा ५० रन बनाउँदै अलआउट भएको थियो । ५१ रनको झिनो लक्ष्य पछ्याएको एलबिए च्यालेन्जर्सले सुरुवाती विकेट गुमाए पनि धैर्यपूर्ण ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरी जित हासिल गर्यो ।

पुरस्कार तथा सम्मान
विद्यालयका अध्यक्ष श्याम सुन्दर ढकालको अध्यक्षतामा सम्पन्न समापन समारोहमा विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
विजेता (एलबिए च्यालेन्जर्स): नगद रु. ७,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र
उपविजेता (एलबिए ब्लाष्टर्स): नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र
प्लेयर अफ द सिरिज: योगेश खत्री (३०० भन्दा बढी रन तथा उत्कृष्ट बलिङ) – नगद रु. ३,०००, ट्रफी, मेडल र प्रमाणपत्र
बेस्ट ब्याटर अफ द सिरिज: योगेश खत्री (१ शतकसहित) – नगद रु. १,५००, ट्रफी र प्रमाणपत्र
बेस्ट बलर अफ द सिरिज: निर्दोष बिष्ट (१६ विकेट) – नगद रु. १,५००, ट्रफी र प्रमाणपत्र
इमर्जिङ प्लेयर: प्रशान्त चन्द – नगद रु. १,५००, ट्रफी र प्रमाणपत्र
यसका साथै, प्रतियोगिताका प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ घोषित खेलाडीहरूलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

अर्को सिजन अझ भव्य हुने : प्रधानाध्यापक मौनी
समापन कार्यक्रमलाई सम्बोधन गर्दै लिटिल बुद्ध एकेडेमीका संस्थापक प्रधानाध्यापक श्याम सिंह मौनीले प्रतियोगितामा सहभागी सबै ८ वटै टोलीले उत्कृष्ट र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले विजेता तथा उपविजेता टोलीलाई बधाई दिँदै आगामी दिनमा ‘लिटिल बुद्ध कप – सिजन २’ लाई अझ भव्य र व्यवस्थित रूपमा आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, विद्यार्थीहरूलाई खेलकुदप्रति जागरुक बनाउन सुरुदेखि अन्त्यसम्म खटिने सम्पूर्ण टिम म्यानेजरहरूलाई उहाँले विशेष धन्यवाद दिनुभयो ।
लिटिल बुद्ध एकेडेमीले शैक्षिक गतिविधिसँगै समय–समयमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै आएको छ । विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयहरूलाई लाखौँ मूल्य बराबरका खेलकुद सामग्री वितरण, विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान तथा विपन्न एवं सहयोगको खाँचो रहेका वर्गहरूलाई निरन्तर सहयोग गर्दै आइरहेको छ ।


टिप्पणी