कञ्चनपुर – स्थानीय तह निर्वाचन–२०८३ को मिति सरकारले औपचारिक रूपमा घोषणा गरिसकेको छैन। तर निर्वाचनको चर्चा गाउँ, टोल र चोक हुँदै राजनीतिक वृत्तसम्म पुग्न थालेको छ। विशेषगरी भीमदत्त नगरपालिकामा आगामी निर्वाचनमा कसले नगरको नेतृत्व गर्ने भन्ने विषयमा राजनीतिक दलभित्र र आम नागरिकबीच बहस सुरु भएको छ। सम्भावित उम्मेदवारका नामहरू चर्चामा आउन थाले पनि नगरपालिकाको नेतृत्वमा युवाको सहभागिता हुने सम्भावना भने तत्कालका लागि कमजोर देखिएको छ।
राजनीतिक वृत्तमा चर्चामा आएका नामहरू हेर्दा नेपाली कांग्रेसको गगन थापा पक्षबाट भीमदत्त नगरपालिकाका पूर्वप्रवक्ता पदम अवस्थी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरका सभापति पदम विष्ट तथा अघिल्लो निर्वाचनमा उपप्रमुख पदमा लोकप्रिय मत प्राप्त गरेका कृष्णदत्त जोशी (बोक्सर) लगायत देखिएका छन्। एमालेबाट भने अहिलेसम्म सम्भावित उम्मेदवारको नाम सार्वजनिक रूपमा चर्चामा आएको छैन। तर अहिलेसम्म चर्चामा रहेका नाममध्ये ४० वर्षमुनिका उम्मेदवार देखिएका छैनन्। यसले राजनीतिक दलहरूमा नेतृत्व हस्तान्तरण र युवालाई अवसर दिने विषय अझै प्राथमिकतामा पर्न नसकेको संकेत गर्छ।
स्थानीय निर्वाचन–२०७९ को परिणामलाई हेर्दा पनि भीमदत्त नगरपालिकामा प्रमुख पदका लागि प्रतिस्पर्धा गरेका प्रभावशाली दलहरूले युवा नेतृत्वलाई पर्याप्त प्राथमिकता दिएको देखिँदैन। तत्कालीन नेपाली कांग्रेसका पदम बोगटी र नेकपा एमालेका महेश पन्तबीच भएको प्रतिस्पर्धामा पन्त तुलनात्मक रूपमा युवा उम्मेदवार भए पनि उनी पनि ४० वर्षमाथिकै उमेर समूहमा थिए। यसले नगरको नेतृत्वमा पुस्तान्तरणको बहस अझै अधुरो रहेको देखाउँछ।
तर भीमदत्त नगरपालिकालाई अहिले उमेरका आधारमा मात्र युवा नेतृत्व चाहिएको होइन, युवा सोच, स्पष्ट दृष्टिकोण, इच्छाशक्ति र परिणाम दिन सक्ने नेतृत्व चाहिएको हो। नगरवासीका समस्या वर्षौंदेखि उस्तै छन्। महेन्द्रनगर बजारमा अव्यवस्थित रूपमा भइरहेका निर्माण तथा सहरीकरणलाई व्यवस्थित बनाउने चुनौती छ। भीमदत्त नगरपालिका–९ को खल्ला मसेट्टी क्षेत्रका सडक, विद्युत् र शिक्षासम्बन्धी समस्या अझै समाधानको प्रतीक्षामा छन्। अर्कोतर्फ छाडा चौपायाको व्यवस्थापन नगरपालिकाका लागि सबैभन्दा जटिल समस्यामध्ये एक बनेको छ।
छाडा चौपाया व्यवस्थापनका नाममा विगतका स्थानीय सरकारहरूले करोडौँ रुपैयाँ खर्च गरिसक्दा पनि किसानले लगाएको अन्नबाली जोगाउन रातभर खेतमै जाग्राम बस्नुपर्ने अवस्था अन्त्य हुन सकेको छैन। सडकमा छाडिएका चौपायाका कारण दुर्घटनाको जोखिमसमेत बढिरहेको छ। पहिलो स्थानीय सरकारको पालामा घरपालुवा चौपायाको पहिचानका लागि कानमा ट्याग लगाउने कार्यमा समेत लाखौँ रुपैयाँ खर्च गरिएको थियो। तर ट्याग लगाइएका चौपाया नै सडकमा देखिनुले व्यवस्थापनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ।
नगरवासीलाई सडक र विद्युत् विस्तार मात्रै पर्याप्त छैन। बनेका सडकको गुणस्तर, विद्यालयको शैक्षिक सुधार, व्यवस्थित सहरीकरण, कृषि उत्पादनको संरक्षण र युवालाई लागुऔषधको दुर्व्यसनबाट जोगाउने प्रभावकारी कार्यक्रम आवश्यक छन्। नगरभित्रका यी समस्या नयाँ होइनन्। विगतका नेतृत्वलाई समस्या थाहा हुँदाहुँदै पनि अपेक्षित परिणाम दिन नसक्नुले राजनीतिक दल र तिनका नेतृत्वप्रति नागरिकको विश्वास कमजोर बनाउँदै लगेको छ।
निर्वाचनका बेला घरदैलो गर्ने, आश्वासन बाँड्ने र जनताको मत माग्ने तर निर्वाचित भएपछि अर्को निर्वाचन नआउँदासम्म नागरिकका समस्या र गुनासाप्रति बेवास्ता गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। जनप्रतिनिधि जनताका सेवक हुन्, निर्वाचन जितेपछि जनताभन्दा माथि रहने व्यक्ति होइनन्। नगरवासीले अब भाषण र आश्वासनभन्दा कामको परिणाम खोजिरहेका छन्।
यसैबीच, आफूलाई हिन्दुवादी दलका रूपमा प्रस्तुत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत किसानका समस्या समाधानका विषयमा प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको गुनासो सुनिन्छ। पछिल्लो समय चर्चामा रहेको नेपाली कम्युनिस्ट पार्टीको स्थानीय राजनीतिक सक्रियता र आगामी निर्वाचनमा नगरको नेतृत्वका लागि उसले लिने रणनीतिबारे पनि स्पष्टता आउन बाँकी छ। त्यसैले आगामी निर्वाचनमा कुन दलले कस्तो नेतृत्व अघि सार्छ भन्ने विषय चासोको विषय बनेको छ।
भीमदत्त नगरपालिकाको आगामी नेतृत्व चयन गर्दा नागरिकले दलगत आस्था र व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर उम्मेदवारको क्षमता, इमानदारी, कार्ययोजना र विगतको कार्यसम्पादनलाई मूल्यांकन गर्न आवश्यक छ। नगरको बजेट कसरी खर्च गर्ने, वर्षौंदेखिका समस्या कसरी समाधान गर्ने र जनताप्रति कसरी जवाफदेही बन्ने भन्ने स्पष्ट दृष्टिकोण नभएको नेतृत्वबाट परिवर्तनको अपेक्षा गर्न सकिँदैन।
अन्ततः भीमदत्त नगरपालिकालाई युवा नै चाहिन्छ भन्ने होइन, युवामा हुन सक्ने नयाँ सोच, ऊर्जा, प्रविधिमैत्री दृष्टिकोण र जवाफदेहितासहितको नेतृत्व चाहिएको हो। पुरानो पुस्ताका सक्षम र इमानदार व्यक्तिलाई निषेध गर्नुपर्ने आवश्यकता छैन, तर युवालाई अवसरबाट वञ्चित गर्ने राजनीतिक संस्कार पनि स्वीकार्य हुन सक्दैन।
अबको निर्वाचनमा भीमदत्तवासीले उमेर र दलको झण्डा मात्र होइन, उम्मेदवारको सोच, प्रतिबद्धता र काम गर्ने क्षमतालाई प्राथमिकता दिनुपर्छ। किनकि नगरको नेतृत्व परिवर्तन हुनु मात्र परिवर्तन होइन, नगरवासीको जीवनमा सकारात्मक परिणाम देखिनु नै वास्तविक परिवर्तन हो।


टिप्पणी