कञ्चनपुर (महेन्द्रनगर) — अग्रिम टिकट काटेर सुरक्षित यात्राको अपेक्षा गरेका यात्रुलाई एउटै सिटको टिकट दुई जनालाई बेचेर दोहोरो रकम असुल्ने र समस्या आउँदा पन्छिने प्रवृत्ति महेन्द्रनगरको ‘पवनदुत यातायात एण्ड अटो मेनेजमेन्ट प्रालि’ मा दोहोरिने गरेको पाइएको छ ।
मंसिर ५ गते शनिबार साँझ ४ बजे महेन्द्रनगरबाट काठमाडौँका लागि छुटेको ‘राजगद्दी सफारी’ बसमा यस्तो घटना बाहिरिएको हो । मंसिर ३ गते नै टिकट काटेका यात्रु बस चढ्न खोज्दा काउन्टरले एउटै सिटको टिकट दुई जना यात्रुलाई दिएर जनही ३ हजार ५ सय रुपैयाँका दरले भाडा लिएको भेटिएको छ ।
यात्रुसँग रहेको टिकटको प्रतिलिपिमा ‘A१०’ स्पष्ट उल्लेख भए पनि बस काउन्टरमा रहेको प्रतिलिपिमा केरमेट गरी ‘A१४’ लेखिएको पाइएको छ । काउन्टरको प्रतिलिपिमा ‘साउजीले मिलाउने’ समेत लेखिएको छ । तर, बसमा सिट नमिलेपछि समस्या समाधानका लागि फोन गर्दा सम्पर्क हुन सकेन । भोलिपल्ट बिहान मात्र फोन उठाएर टिकटमा आफ्नो कुनै संलग्नता नरहेको र सम्पूर्ण जिम्मेवारी काउन्टरकै हुने भन्दै पन्छिएको पीडित पक्षको गुनासो छ ।

अध्यक्ष बाहिर, काउन्टर मौन
पवनदुत यातायातका बसहरूमा टिकट र सिटसम्बन्धी यस्तो समस्या किन बारम्बार दोहोरिन्छ भन्ने विषयमा बुझ्न कम्पनीका अध्यक्ष निराजन थापासँग सम्पर्क गर्दा उनले आफू महेन्द्रनगर बाहिर रहेको प्रतिक्रिया दिए । उनले काउन्टरका कर्मचारीलाई यसबारे बुझ्न निर्देशन दिने बताए पनि काउन्टरबाट कुनै ठोस समाधान ननिस्किएको यात्रुहरूको भनाइ छ ।
यस्तो लापरबाही यो पहिलोपटक नभएको पीडित यात्रुहरू बताउँछन् । अग्रिम टिकट काटिसकेपछि पनि फाइदाका लागि एउटै सिट दुई जनालाई बेच्ने प्रवृत्ति पवनदुतमा पुरानै समस्या रहेको यसअघि यस्तै सास्ती भोगिसकेका एक यात्रुले सुनाए ।
सिटबाट उठाउन खोज्दा ट्राफिक नै बोलाउनुपर्यो !!
लामो दूरीको यात्रामा, विशेषगरी चाडपर्व र भिडभाडको समयमा पवनदुतका बसमा यात्रुले सास्ती खेप्दै आएका छन् । केही समयअघि काठमाडौँबाट महेन्द्रनगर आउँदै गरेको सोही कम्पनीको बसमा एक यात्रुलाई सिटबाट जबर्जस्ती उठाउन खोजिएपछि काठमाडौँ बसपार्कस्थित ट्राफिक प्रहरीलाई नै खबर गर्नुपरेको थियो ।
प्रहरी पुगेर बसका कर्मचारीलाई त्यस्तो व्यवहार नगर्न सम्झाएर पठाएको घटना पीडितका आफन्तले निश्पक्ष आवाज लाई जानकारी दिए ।
नियमन र जवाफदेहिता खोई ?
सीमित समयभित्र गन्तव्यमा पुग्नुपर्ने बाध्यता भएका यात्रुले अग्रिम टिकट र भाडा तिरिसकेपछि पनि सिट नपाउने र उल्टै गैरजिम्मेवार जवाफ सुन्नुपर्ने अवस्थाले सार्वजनिक यातायातको अनुगमन र नियमनमाथि प्रश्न उठाएको छ ।
यात्रुहरूको भनाइ छ— सो कम्पनीमा बारम्बार यस्ता बेथिति दोहोरिँदा पनि सम्बन्धित समिति र व्यवस्थापन मौन बस्ने वा एक–अर्कालाई दोष देखाएर पन्छिने हो भने यात्रुको अधिकार कसले सुरक्षित गर्ने ?


टिप्पणी