धनगढी, ९ साउन
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढीमा २४ औँ सत्याग्रह बसिरहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।
​नेपाल सरकारसमक्ष विभिन्न ५ बुँदे मागहरू राख्दै धनगढी उपमहानगरपालिका–१, एलएन चोकस्थित श्रीकृष्ण मन्दिर धर्मशालाको कोठा नम्बर २११ मा विगत तीन दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्यमा शुक्रबार बिहान एक्कासि जटिलता देखिएको थियो।
​अनशनस्थलमै पुगेर सेती प्रादेशिक अस्पतालका डा. गजेन्द्र दुवालले स्वास्थ्य परीक्षण गर्दा उहाँको ब्लड प्रेसर (बीपी) ११०/९० मा झरेको र रगतमा चिनीको मात्रा (सुगर) ५० मा सीमित भई लगातार घट्दो क्रममा रहेको पाइएको थियो। स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि डाक्टरको सल्लाह बमोजिम के.सी.लाई तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने भनिएको थियो।
​डा. के.सी. लाई एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पुर्‍याइएको छ। डा. केसीलाई मध्याह्न १२:०० बजेदेखि सोही अस्पतालको आईसीयू (बेड नम्बर २) मा राखेर उपचार थालिएको छ।