कञ्चनपुर- नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गजेन्द्र देव लेखकले संघको केन्द्रीय उपाध्यक्ष (खुद्रा) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
मंसिर ५ र ६ गते सुर्खेतमा आयोजना हुने संघको १५औँ राष्ट्रिय अधिवेशन तथा ५३औँ वार्षिक साधारण सभालाई लक्षित गर्दै लेखकले उम्मेदवारी घोषणा गरेका हुन्।
कञ्चनपुरमा विगत २२ वर्षदेखि औषधि व्यवसायमा सक्रिय लेखकले महाकाली अञ्चल शाखाको महासचिवदेखि सुदूरपश्चिम प्रदेश अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।
उनले खुद्रा औषधि व्यवसायीहरूको हकहित, व्यावसायिक सुरक्षा, अधिकार र सम्मानलाई प्राथमिकता दिँदै ‘सक्षम नेतृत्व, सुदृढ संस्था, सुरक्षित व्यवसाय र सम्मानित व्यवसायी’ भन्ने नारासहित उम्मेदवारी अघि सारेका छन्।
केन्द्रीय नेतृत्वमा पुगेर खुद्रा व्यवसायीका समस्या, नीतिगत जटिलता र व्यावसायिक चुनौतीलाई प्रभावकारी रूपमा उठाउने आफ्नो लक्ष्य रहेको लेखकले बताएका छन्।


टिप्पणी