सुदुरपश्चिम प्रदेश : सशस्त्र प्रहरी बल, नेपालले कैलालीको धनगढीबाट करिब २२ लाख रुपैयाँ मूल्य बराबरका सामान र कारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
२०८३ साल कार्तिक १८ गते साँझ धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्क क्षेत्रमा विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म त्रिनगर, कैलालीको टोलीले चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
भारतबाट अवैध बाटो प्रयोग गरी ल्याइएका दीपावलीका विभिन्न सामान बा १२ च ५६६० नम्बरको रातो कारमा राखिएको अवस्थामा फेला परेका थिए।
सशस्त्र प्रहरीले सामान र कारसहित कुल २१ लाख २९ हजार ९३० रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा पर्नेमा भारतको उत्तर प्रदेश राज्य, लखिमपुर खिरी जिल्ला, पलिया निवासी अन्दाजी १९ वर्षीय सुजन गुप्ता र कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी ठेगाना बताउने अन्दाजी २० वर्षीय प्रविण बराल रहेका छन्।
बरामद सामान, कार तथा नियन्त्रणमा लिइएका दुवै जनामाथि सशस्त्र प्रहरीले थप अनुसन्धानको प्रक्रीया अगाडि बढाएको श्रोतले जनाएको छ।


टिप्पणी