कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित श्री महेन्द्रनगर माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सव भव्य रूपमा मनाउने तयारी थालेको छ।

विद्यालयले आगामी पौष १५ गते स्वर्ण महोत्सव आयोजना गर्ने तयारीस्वरूप पत्रकार सम्मेलनमार्फत विद्यालयको ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धि, वर्तमान अवस्था तथा महोत्सवका कार्यक्रमबारे जानकारी गराएको हो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

विद्यालयका अनुसार वि.सं. २०३३ सालमा वैजनाथ माध्यमिक विद्यालयको भवनबाट पठनपाठन सुरु भएको यस विद्यालयले सुरुवाती चरणमा कक्षा ५ सम्म अध्यापन गराउँदै आएको थियो। पछि वि.सं. २०३४ सालमा तत्कालीन महेन्द्रनगर पञ्चायत वडा नं. १८ कटानमा स्थानान्तरण भएको विद्यालयले क्रमशः शैक्षिक कार्यक्रम विस्तार गर्दै आएको छ।

विद्यालयका संस्थापक प्रधानाध्यापक स्वर्गीय धर्मानन्द भट्ट (शर्मा) र संस्थापक अध्यक्ष स्वर्गीय मोहनबहादुर रावलको योगदानलाई विद्यालयले आफ्नो ऐतिहासिक यात्राको महत्वपूर्ण आधारका रूपमा स्मरण गरेको छ।

विद्यालयले हाल साधारण तथा प्राविधिक धारका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। नर्सरीदेखि कक्षा १२ सम्मको पढाइसँगै अंग्रेजी माध्यम, खुला विद्यालय, विज्ञान, व्यवस्थापन, शिक्षा तथा कानुन विषयको अध्यापन भइरहेको छ। त्यसैगरी, तीनवर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्रि-डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन प्लान्ट साइन्स तथा २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिमसमेत सञ्चालनमा छन्।

विद्यालयले उपलब्ध गराएको विवरणअनुसार हाल विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत ३ हजार १९२ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा शिक्षक तथा कर्मचारी गरी कुल १०४ जना कार्यरत रहेको विवरणमा उल्लेख छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

विद्यालयको भौतिक तथा शैक्षिक विकासका क्रममा पाँच बिघा १० कट्ठा जग्गा, पाँचवटा भवन, क्यान्टिन, खेलमैदान, ५२ वटा कक्षाकोठा, आठवटा अतिरिक्त कक्षाकोठा, दुईवटा हल, ६४ वटा सीसीटीभी क्यामेरा, ५४ वटा प्रोजेक्टर, १८ वटा स्मार्टबोर्ड, ३४ वटा ल्यापटप, ३० वटा कम्प्युटर र १० वटा प्रिन्टर रहेका छन्।

त्यस्तै, विद्यालयले २०७९ सालमा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत नमुना विद्यालय छनोट हुन सफल भएको थियो। भारतीय राजदूतावासको सहयोगमा भवन निर्माण, प्रदेश सरकारको सहयोगमा छात्रावास निर्माण तथा विभिन्न शैक्षिक पूर्वाधार विकासका कामसमेत भएका छन्। विद्यालयले गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ भने पढ्दै कमाउँदै र सिक्दै कमाउँदै कार्यक्रमसमेत सञ्चालन गरेको छ।

स्वर्ण महोत्सवमा विविध कार्यक्रम

विद्यालयले स्वर्ण महोत्सवलाई विशेष र स्मरणीय बनाउन २१ सदस्यीय मूल आयोजक समिति, १५ सदस्यीय सल्लाहकार समिति, १३ सदस्यीय सचिवालय तथा २२ वटा विभिन्न उपसमिति गठन गरेको जनाएको छ।

महोत्सवका अवसरमा वृक्षरोपण, रक्तदान, २४ घण्टा खुला ई–लाइब्रेरी स्थापना, प्रदेशस्तरीय अन्तरविद्यालय भलिबल प्रतियोगिता, सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी, खाद्य प्रदर्शनी, सम्मान तथा पुरस्कार वितरणलगायतका कार्यक्रम सञ्चालन गरिनेछन्।

त्यसैगरी, विद्यालयलाई योगदान पुर्‍याउने पूर्व तथा वर्तमान शिक्षक, कर्मचारी, संघसंस्था, व्यापारी, बुद्धिजीवी, समाजसेवी तथा पत्रकारलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ।

महोत्सवका मुख्य आकर्षणका रूपमा स्वर्ण स्तम्भ निर्माण तथा अनावरण, बाजागाजा र झाँकीसहित बजार परिक्रमा, ५० लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना, तीनदिने योग शिविर सञ्चालन तथा विद्यालयको इतिहास समेटिएको विशेषाङ्क प्रकाशन गर्ने योजना रहेको छ।

विद्यालयले स्वर्ण महोत्सवलाई केवल वार्षिकोत्सवमा सीमित नराखी विद्यालयको गौरवशाली इतिहास, शैक्षिक उपलब्धि र भावी योजनालाई सार्वजनिक गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक विरेन्द्रराज विष्टले विद्यालयको स्थापनादेखि हालसम्मको विकास यात्रालाई स्मरण गर्दै महोत्सव सफल बनाउन पूर्वविद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, स्थानीय समुदाय, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई सहयोग र सहभागिताका लागि आग्रह गरेका छन्।