ब्रेकिङ न्युज

Default Placeholder

कञ्चनपुर, २९ असार – कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक विद्युत लाइन व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरण, महेन्द्रनगर कार्यालयसँग आग्रह गर्दै विमानस्थल पुनः संचालन समितिले ज्ञापन पत्र बुझाएको छ।

मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिले नेपाल विद्युत प्राधिकरणका कार्यालय प्रमुखलाई बुझाएको पत्रमा विगत अढाई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल स्थानीय जनताको अथक प्रयास र संघर्षपछि पुनः निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गरिएको छ।

समितिका अनुसार विमानस्थल निर्माण कार्य करिब ९५ प्रतिशत सम्पन्न भइसकेको छ भने बाँकी काम पनि केही दिनभित्र सकिने तयारी छ। त्यसपछि विमानस्थलमा परीक्षण उडान सञ्चालन गरिने योजना रहेको जनाइएको छ।

पत्रमा विमानस्थलको रनवे (Runway) क्रस गरेर लगिएको मुख्य विद्युत लाइन परीक्षण उडान तथा नियमित सञ्चालनका लागि प्रमुख अवरोध बनेको उल्लेख गर्दै उक्त लाइनलाई यथाशीघ्र व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणसँग अनुरोध गरिएको छ। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान हुन नसकेको भन्दै अब विकासलाई सहज बनाउन आवश्यक पहल गर्न आग्रह गरिएको हो।

समितिले यस विषयमा कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा सम्बन्धित मन्त्रीहरूलाई समेत जानकारी गराइसकेको जनाएको तथा नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय अत्तरियालाई पनि बोधार्थ पठाइएको छ।

मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिले विमानस्थल सञ्चालनमा ढिलाइ हुन नदिन विद्युत लाइन व्यवस्थापन कार्यलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: