ब्रेकिङ न्युज

कञ्चनपुर, २७ जेठ

कञ्चनपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा तथा सातौँ जिल्ला अधिवेशन–२०८३ आज महेन्द्रनगरमा भव्य रूपमा सुरु भएको छ। जिल्ला क्रिकेट संघका अध्यक्ष वीरेन्द्र चन्दको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्द प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि चन्दले गमलामा पानी हालेर गर्नुभएको थियो।

​कार्यक्रमलाई सम्बोधन गर्दै क्यान अध्यक्ष चतुर बहादुर चन्दले नेपाली क्रिकेटको विकास र राष्ट्रिय टोली निर्माणमा कञ्चनपुर जिल्लाको भूमिका सधैँ अग्रपंक्तिमा रहेको उल्लेख गर्नुभयो। यद्यपि, खेलाडी उत्पादनमा अब्बल रहेर पनि कञ्चनपुरमा खेल मैदान र आवश्यक खेल पूर्वाधार निर्माणमा सरकारले ध्यान दिन नसकेकोमा उहाँले दुखेसो पोख्नुभयो।

​पछिल्लो समय सुदूरपश्चिमकै ड्रिम प्रोजेक्ट मानिएको ‘फाप्ला क्रिकेट मैदान’ राजनीति गर्ने थलो बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष चन्दले भन्नुभयो—

​”यदि वास्तवमै खेलकुदको विकास चाहने हो भने एकीकृत खेल मैदान बिस्तारै बन्दै गर्छ, तर तत्कालका लागि क्रिकेट मैदान निर्माणमा जोड दिनुपर्छ। भौतिक पूर्वाधारको वर्तमान अवस्थालाई हेर्ने हो भने कञ्चनपुर जिल्ला छिमेकी जिल्ला बैतडी भन्दा पनि पछाडि परेको देखिन्छ।”

​सुदूरपश्चिम प्रदेशबाट पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीका रूपमा दानसिंह क्षेत्रीले डेब्यु गरेयता हालसम्म यस क्षेत्रबाट देशको प्रतिनिधित्व गर्दै राष्ट्रिय टोलीमा पुग्ने खेलाडीहरूको संख्या उल्लेख्य रहेको कार्यक्रममा स्मरण गरियो।

​जिल्ला खेलकुद विकास समितिका प्रमुख गोपाल भट्टले क्रिकेट खेल सामग्री र पर्याप्त संरचनाको अभाव हुँदाहुँदै पनि जिल्ला क्रिकेट संघको अथक प्रयास र खेलाडीहरूको लगनशीलताका कारण कञ्चनपुरले देशलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सफल भएको बताउनुभयो।

​कञ्चनपुर जिल्ला क्रिकेट संघको ११ सदस्यीय कार्यसमिति रहे पनि गत वर्ष तत्कालीन सचिव इन्द्र खरेलको असामयिक निधनका कारण हाल समिति १० सदस्यीय रहेको छ। वर्तमान समितिले आफ्नो कार्यकालभरि जिल्लादेखि केन्द्रसम्म क्रिकेट खेलसँग सम्बन्धित २४ वटा विभिन्न प्रतियोगिता तथा कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिसकेको कार्यवाहक सचिव विशाल सुनारले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै जानकारी गराउनुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: