२४ असार, २०८२
कंचनपुर
असार मसान्तमा कामहरु सक्काइ बजेट पास गर्नु पर्ने नियमले कामहरु फटाफट सक्काउने होडबाजी जुनसुकै ठाउँमा देख्न सकिन्छ । महेन्द्रराजमार्गमा रहेको कंचनपुरको भिमदत्त नगरपालिका वडा न २, सुडामा पर्ने पुल निर्माण सम्पन्न हुँदै गर्दा त्यस माथी गरिएको कालोपत्रे निस्किन शुरु भइसकेको छ ।
राजमार्गमा मानिसहरुको भिड अनुमान नगरी बनाइएको पुल कामचलाउ रुपमा बनेको निश्चित भएको पाइएको छ । ०८२ साल असार मसान्त भित्र सकिनुपर्ने योजना निर्माणको ठेक्का न्यु जोशी महरा जे.भि. कम्पनीले गरिरहेको छ , उक्त पुल योजनामा पुलको भागमा पर्ने सडक पिच गर्नुपर्ने काम समेत स्तरहिन रहेको पाइएको छ ।
यस अगाडि पुल क्षतिग्रस्त हुदा यो क्षेत्रमा डाइभर्सन समेत नराखिदा कंचनपुरकै उर्जावान युवाहरु दुर्घटना परेर ज्यान समेत गुमाइसकेका छन । पुलको चौडाइ कम भएको र यसले निकट भविष्यको ट्राफिक समस्यालाइ कसरी समाधान गर्न सक्छ भन्दै सडक डिभिजन कार्यालय कंचनपुरलाई बुझ्दा पुलको चौडाइ धेरै गर्न बजेटको सीमा लगायतका बिषयले आफुहरुले यो मापदण्डमा पुलको काम अगाडि बढाएको तथा अहिलेको आवत जावत गर्ने मानिसहरुको संख्यालाई यो पुलले धान्न सक्ने तर ५/६ बर्षमा नै यसको विकल्पको रुपमा थप सोच्नु पर्ने बताउछन सडक डिभिजन कार्यालय कंचनपुरका प्रमुख राजेश कुमार यादव ।
आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण मार्फत नेपाल सरकारले गड्डाचौकी – अत्तरिया सडकखण्ड ४ लेन बनाउने भनि बजेट समेत विनियोजन गरिसकेको बेला आउने बर्षहरुमा राजमार्गमा हुन सक्ने ओहोर-दोहोर लाई बेवास्ता गरेर ल्याइएका यस्ता किसिमका योजनाले सरकारको खर्च समेत बढाएको र आगामी दिनमा त्यसै कामलाई मात्र दोहर्याएर गरिराख्नुपर्ने रुपमा समेत यस्ता योजनाहरुलाइ बुझ्न सकिन्छ ।
सडकमा काम संचालन भइरहदा निर्माण कम्पनीले काम गर्ने भएतापनी सडक डिभिजन कार्यालयबाट खटिएको प्रतिनिधि समेत त्यस स्थानमा हुनु जरुरी हुन्छ जसले मापदण्ड अनुसार काम गर्नु पर्ने र मापदण्ड अनुसार काम नगरे काम गराउने जिम्मा समेत हुनु पर्दछ । पुल नजिक भइरहेको पिचको स्तर कमसल भएको स्विकार गर्दै त्यसलाई स्तरिय बनाउन आफुहरुले पहल गरिरहेको र मापदण्ड अनुसार ठेकेदार कम्पनीलाई आफुहरुले काम गराएरै छोडने बताउछन , सडक डिभिजन कार्यालयका सुचना अधिकारी ई. हरिश प्रसाद जोशी ।
