कञ्चनपुर, चैत २६ — कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ कुमगडा क्षेत्रमा आज साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय, कंचनपुरका अनुसार आज साँझतिर पहरिया–कुमगडा भित्री कच्ची सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ ज २९० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनापछि तत्काल प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो।
दुर्घटनामा परी कृष्णपुर नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती देवी बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।घाइते हुनेहरूमा जिप चालक २४ वर्षीय अर्जुन साउद गम्भीर घाइते भएका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। त्यसैगरी ३०–३५ वर्षीया धनसरी बोहरा, १३ वर्षीया सरिता बोहरा, १५ वर्षीया भावना पार्की, १४ वर्षीया रेश्मा घटाल र भीमदत्त नगरपालिका तिल्केनी निवासी ५० वर्षीया गंगा बिष्ट मध्यम घाइते भएका छन्।
घाइतेहरूलाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि धनगढी, कैलाली पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
