
चैत्र-०६, महेन्द्रनगर — सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय ले महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा महेश प्रसाद पन्त लाई मनोनीत गरेको छ।मन्त्रालयले २०८२ चैत ५ गते जारी गरेको पत्र (चलानी नं. ९६८६) मार्फत पन्तलाई “अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७५” को दफा ४ उपदफा (१) को खण्ड (ख) बमोजिम अध्यक्ष पदमा नियुक्त गरिएको जनाएको छ। उक्त निर्णय मन्त्रीस्तरबाट भएको र आदेशको दफा ४ को उपदफा (३) अनुसार तोकिएको अवधिका लागि नियुक्ति गरिएको पत्रमा उल्लेख छ।
पत्रमा प्रचलित कानुनअनुसार तोकिएको जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्दै अस्पताल व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, अध्यक्ष पदमा मनोनीत भएकोमा पन्तलाई मन्त्रालयले सफल कार्यकालको शुभकामना समेत दिएको छ। उक्त पत्र डा. हेमराज रेग्मी (प्रदेश सचिव) द्वारा हस्ताक्षर गरिएको छ।यसअघि गत वर्ष चैतमा तत्कालीन अध्यक्ष कृष्णानन्द भट्ट को कार्यकाल समाप्त भएपछि समिति नेतृत्वविहीन बनेको थियो। त्यसपछि प्रदेश सरकारले अध्यक्षसहित समितिका पदाधिकारी नियुक्त गरेको हो।
राजनीतिक सहमति अनुसार उक्त अस्पताल व्यवस्थापन समिति नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भागमा परेको थियो। एमाले कञ्चनपुरले अध्यक्षका लागि पन्तसहित हिमाल चन्द र प्रशान्त भट्ट को नाम सिफारिस गरेको थियो। सिफारिस गरिएका मध्ये पन्त अध्यक्षमा नियुक्त भएका हुन् भने भट्ट सदस्यमा चयन भएका छन्।त्यसैगरी नेपाली कांग्रेस का तर्फबाट इन्द्र साउँद लाई सदस्यमा निरन्तरता दिइएको छ। उनी यसअघि पनि समितिमा सदस्य थिए। साथै, पार्वती जोशी लाई पनि सदस्यमा नियुक्त गरिएको छ।
नवनियुक्त अध्यक्ष पन्त भीमदत्त नगरपालिका–१८ का बासिन्दा हुन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका को मेयर पदमा उम्मेदवारसमेत बनेका थिए।नवनियुक्त समितिबाट अस्पतालको सेवा प्रवाह र व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।
