२१ असार २०८२
कञ्चनपुर:
सुदुर पश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा स्ववियुको निर्वाचन हुने भएको छ । केन्द्रिय क्याम्पसका निर्वाचन अधिकृतले सुचना जारी गर्दै निर्वाचन तालिका सार्वजनिक गरेका छन । नयाँ कार्यतालिका अनुसार श्रावण १४ गते निर्वाचन मिति राखिएको छ ।
पटक पटक स्थगित हुदै आएको उक्त निर्वाचन गराउनुपर्ने माग राख्दै केन्द्रिय क्याम्पस कानुन संकायका विद्यार्थीले पुनरावेदन अदालत कञ्चनपुरमा रिट हालेका र अदालतको आदेशको पालना अनुरुप आफुहरुले निर्वाचन प्रक्रिया अगाडी बढाएको बताउछन , स्वतन्त्र विद्यार्थि युनियन केन्द्रिय क्याम्पसका निर्वाचन अधिकृत कर्णदेव भट्ट ।
सुदुर पश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा गत वर्ष चैत्र २७ गते हुनुपर्ने निर्वाचन केन्द्रिय क्याम्पसको निर्वाचन कार्यालयमा भएको तालाबन्दीको कारण देखाउदै स्थगित गरिएको थियो । सुपवि स्ववियु निर्देशिका २०७९ को निर्देशन नं १२ को छ अनुसार कुनैपनि माग राखि वा निर्वाचनको बिषयलाई लिएर बन्द हडताल गर्न पाईने छैन भनि व्यवस्था रहेको भएपनि विश्व विद्यालय केन्द्रिय क्याम्पसले तालाबन्दी देखाई निर्वाचन स्थगित गर्ने परिपाटी बसेको पाईन्छ ।
विद्यार्थी हकहितका लागी विद्यार्थीबाट नै प्रतिनिधी चुनिने उक्त निर्वाचन विश्वविद्यालय शुरु भएयता सम्पन्न भएको देखिदैन । जसकारण विद्यार्थीहरुको हकहित लगायत विद्यार्थी नेतृत्वबाट अगाडी बढने मुद्दाहरुमा स्वयम विश्वविद्याल केन्द्रिय क्याम्पसका विद्यार्थीहरु बन्चित हुनुपरेको देखिन्छ ।
