ब्रेकिङ न्युज

Default Placeholder

चैत्र-१०,कञ्चनपुर — भीमदत्त नगरपालिका वडा नम्बर ३ का स्थानीयवासीहरूले विष्णु मन्दिर तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र जाने सडक निर्माणमा ढिलाइ भएको भन्दै आज बिहान वडा कार्यालयमा तालाबन्दी गरेका छन्।स्थानीयवासीहरूले लामो समयदेखि उक्त सडक निर्माणको माग गर्दै आएका छन्। सोही मागलाई औपचारिक रूप दिन उनीहरूले चैत ०३ गते वडा कार्यालयमा संयुक्त निवेदन समेत पेश गरेका थिए। तर, सम्बन्धित निकायबाट कुनै ठोस पहल नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

स्थानीयका अनुसार वर्षायाममा हिलो र वर्षाका कारण सडक झन् बिग्रिने गरेको छ भने सुक्खा मौसममा धुलोका कारण आवतजावत कठिन हुने गरेको छ। उक्त सडक प्रयोग गर्ने पैदल यात्री, मोटरसाइकल, टेम्पु तथा अन्य साना सवारी साधनका चालकहरू दैनिक जोखिममा पर्ने गरेका छन्।यसैगरी, बिरामी बोकेका एम्बुलेन्स तथा अन्य सेवामूलक सवारी साधनलाई समेत सो सडक प्रयोग गर्दा ठूलो समस्या हुने गरेको स्थानीयको भनाइ छ। सडकको दयनीय अवस्थाका कारण दैनिक जीवनयापन र स्वास्थ्य सेवामा समेत प्रत्यक्ष असर परेको उनीहरूले बताएका छन्।

स्थानीयवासीहरूले यसअघि वडा कार्यालय, नगरपालिका तथा अन्य सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको गुनासो गरेका छन्। सोही क्रममा स्थानीय रामचन्द्र जोशीसहित ५१ जनाले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। उनीहरूले तत्काल सडक मर्मत तथा स्तरोन्नति गरी सुरक्षित आवतजावतको व्यवस्था गर्न माग गरेका छन्। साथै, निवेदनमार्फत भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालय कञ्चनपुर लगायतका निकायको ध्यानाकर्षण गराउँदै जनताको समस्या समाधानमा शीघ्र पहल गर्न आग्रह गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: