
- “हामीलाई सरकारले अनुदान दिनेमा बिश्वास त छैन, अनुदान त कृषि कार्यालयको पहुँचमा भएका कृषकहरुका लागि हो तर यो पटक त भगवानले पनि हाम्रो बाली भित्र्याउने बेलामा मौका छोप्यो” भन्दै कञ्चनपुर जिल्लाका किसानले गुनासो सुनाए।
चैत्र-२५, कञ्चनपुर- केही दिनयता कञ्चनपुर तथा देशका विभिन्न स्थानहरुमा शुरु भएको बेमौसमी बर्षाका कारण गहुँ भित्राउन तयार परेका कृषकहरु मार्कामा परेका छन। असोज अन्तिम देखि कार्तिक र पुस महिनाको पहिलो सातासम्म कंचनपुर जिल्ला किसानहरुले गहुँ छर्न शुरु गर्दछन। करिब ६ महिनाको मेहनत, बालीमा विभिन्न रोगको समस्या तथा कंचनपुर जिल्लामा व्यापक रुपमा रहेको छाडाचौपायाहरुबाट रातभरी खेतमा बसेर गहुँ बाली जोगाउने समस्या पार गर्दै कृषकहरु चैत्र महिनामा प्रवेश गर्दछन। चैत्र महिनामा कृषकहरुले हर्षको पसिना बगाउदै जब गहुँ बाली भित्र्याउने समय शुरु भयो, नपत्याउने तरिकाले बर्षाको आगमन हुन्छ।
कंचनपुर जिल्लामा करिब ३१ हजार २ सय १० हेक्टर जमिनमा गहुँ खेती हुने गर्दछ। जसको करिब ७० प्रतिशत गहुँ बाली किसानहरुले भित्र्याइसकेको कृषि ज्ञान केन्द्र कंचनपुरको अनुमान रहेको छ। कृषकहरुले समयमा मल नपाउने समस्या, मेहनत अनुसार गहुँको उचित मूल्य नपाइनु, गहुँ बाली तयार भइसकेपछि गहुँ चुटने थ्रेसरको मुल्यमा मनपरी जस्ता कतिपय समस्याबाट जुधेका किसानले कृषीबाट पाइने अनुदानमा समेत पावर र पहुँचका आधारमा अनुदान वितरण जस्ता समस्याका कारण जिल्लाका किसानहरु मार्कामा परेका छन।
