काठमाण्डौ: सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै शानदार जित निकालेको छ। कप्तान दीपेन्द्रसिंह ऐरीको सुझबुझपूर्ण कप्तानी र बलरहरूको उत्कृष्ट प्रदर्शनका अगाडि जनकपुरको जित्ने रणनीति असफल भएको हो।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो। रोयल्सका लागि ब्रेन्डन म्याकमुलनले सर्वाधिक ३३ रन बनाए। उनले २३ बलमा २ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, टी. रत्नायकेले २७ तथा जे. निसमले २० रनको योगदान दिए।
अन्य ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा सुदूरपश्चिम १२० रनमै सीमित भएको थियो। जनकपुरका बलरहरूले पनि कसिलो बलिङ गर्दै रोयल्सलाई ठूलो योगफल बनाउनबाट रोकेका थिए।
१ सय २१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स भने सुदूरपश्चिमको घातक बलिङसामु टिक्न सकेन। जनकपुर १९.५ ओभरमा ९३ रनमै समेटियो। उसका लागि टी. आर. दासले सर्वाधिक २१ रन बनाए भने जे. निसमले २० र आर. यादवले ११ रन जोडे।
सुदूरपश्चिमका बलरमध्ये स्कट कुगेलेइनले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी, ईशान पाण्डे, हेमन्त धामी, टी. रत्नायके र अनिल खरेलले समान १ विकेट हात पारे।
बलिङसँगै फिल्डिङमा समेत सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्यो। जेबको सटिक थ्रोमा जनकपुरका एक ब्याटर रनआउट भएका थिए। कप्तान दीपेन्द्रको रणनीतिक कप्तानी र टोलीको सामूहिक प्रदर्शनले जनकपुरको ब्याटिङ योजना ध्वस्त बनाएको देखियो।
ब्याटिङमा ठूलो स्कोर बनाउन नसके पनि बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिमले अन्ततः २७ रनको जित आफ्नो पक्षमा पार्न सफल भयो।


टिप्पणी