कञ्चनपुर : कञ्चनपुरका किसानले उत्पादन गरेको मोटा धान बिक्री गर्न नपाएको समस्या समाधानका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग थप २० हजार क्विन्टल धान खरिदको कोटा माग गर्ने निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बिहीबार बसेको प्राथमिक खरिद समितिको बैठकले मोटा धानको कोटा थप गर्न कम्पनीको प्रधान कार्यालय काठमाडौंलाई पत्राचार गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको अध्यक्षतामा बसेको बैठकमा कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महतासमेतको विशेष उपस्थिति रहेको थियो।
बैठकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगर शाखाका लागि चालु आर्थिक वर्ष २०८३/०८४ मा स्वीकृत ८ हजार क्विन्टल मोटा धानको कोटा अपर्याप्त भएको विषयमा छलफल भएको थियो।
कम्पनीको महेन्द्रनगर शाखाले गत कात्तिक १९ गतेसम्म ३०० वटा कुपन वितरण गरी ६ हजार ७५३ क्विन्टल धान खरिद गरिसकेको छ। तर, जिल्लामा यस वर्ष धान उत्पादन बढेको र छिमेकी जिल्लाको तुलनामा कञ्चनपुरलाई न्यून कोटा निर्धारण गरिएकाले धेरै किसानले आफ्नो धान बिक्री गर्न नपाएको बैठकमा उल्लेख गरिएको छ।
यसअघि जिल्लाका लागि आर्थिक वर्ष २०८२/०८३ मा १५ हजार क्विन्टल धान खरिदको लक्ष्य निर्धारण गरिएको थियो। किसानको उत्पादन र खरिद कोटाबीच ठूलो अन्तर देखिएपछि समस्या समाधानका लागि थप २० हजार क्विन्टल मोटा धानको कोटा उपलब्ध गराउन माग गर्ने निर्णय गरिएको हो।
बैठकले थप कोटा स्वीकृतिका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रधान कार्यालय काठमाडौंलाई पत्र पठाउने निर्णय गरेको छ। साथै, कोटा थप गर्ने निर्णय नभएसम्म महेन्द्रनगर शाखाबाट भइरहेको धान खरिद प्रक्रिया तत्कालका लागि स्थगित गर्ने निर्णयसमेत गरेको छ।
किसानले उत्पादन गरेको धान बिक्री गर्न नपाइरहेको अवस्थामा थप कोटाको निर्णयले किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ। अब कम्पनीको केन्द्रीय कार्यालयले थप कोटाबारे गर्ने निर्णयको प्रतीक्षा गर्नुपर्ने भएको छ।
बैठकमा जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका तथा सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।


टिप्पणी