कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिका–९, सुन्दरपुरमा श्री सुन्दरपुर रामलीला महोत्सव–२०८३ शुरु भएको छ। सुन्दरपुर रामलीला समितिको आयोजनामा सञ्चालन हुन लागेको धार्मिक महोत्सव अन्तर्गत आज कलश यात्रा सम्पन्न भएको हो।
आयोजकका अनुसार महोत्सव यही कार्तिक १२ गतेदेखि २१ गतेसम्म भव्यताका साथ सञ्चालन हुनेछ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको महोत्सवमा सहभागी भई पुण्य लाभ लिन आयोजकले सम्पूर्ण धर्मानुरागी तथा श्रद्धालु भक्तजनमा अनुरोध गरेको छ।
सुन्दरपुरस्थित श्री उदय देव माध्यमिक विद्यालयको प्राङ्गणमा हरेक दिन साँझ ७ बजेदेखि सुरु हुने महोत्सवमा भगवान् श्रीरामको आदर्श, माता सीताको त्याग र भगवान् हनुमानको भक्तिसँग सम्बन्धित धार्मिक कथामा आधारित रामलीला तथा नाट्य प्रस्तुति प्रदर्शन गरिनेछ।
महोत्सवले धार्मिक आस्था, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउनुका साथै स्थानीय समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।


टिप्पणी