कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेका कार्यक्रम कार्यान्वयन गर्न माग गर्दै एक ज्येष्ठ नागरिक अनशनमा बसेका छन्।
भीमदत्त नगरपालिका–५, बनगाउँ निवासी ६२ वर्षीय राजु सिंह खड्का मंगलबार बिहानदेखि भीमदत्त नगरपालिका–१८ स्थित नगरपालिकाको प्राङ्गणमा रहेको चौतारीमा धर्ना तथा अनशनमा बसेका हुन्।
खड्काले नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएका स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रका कार्यक्रम कार्यान्वयन गर्न माग गरेका छन्। उनले विषादी, जङ्कफुड तथा दुर्व्यसनबाट प्रभावित बालबालिकाको पोषणयुक्त भोजनमार्फत पालनपोषण र विषादीरहित औषधिबाट उपचार गरी उनीहरूको जीवन रक्षा गर्नसमेत अनुरोध गरेका छन्।
आफ्ना मागसहित उनले नगरपालिकाको प्राङ्गणमा ‘भीमदत्त नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रमा प्रस्तुत गरेका कार्यक्रमहरू कार्यान्वयन हुनुपर्ने’ भन्ने व्यहोराको ब्यानर राखेर अनशन सुरु गरेका हुन्।
नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा बालबालिकाको स्वास्थ्य र पोषण सम्बन्धी विषयलाई सम्बोधन गर्नुपर्ने मागसहित खड्का अनशनमा बसेका हुन्।
अनशनप्रति नगरपालिकाको आधिकारिक धारणा तथा माग सम्बोधनका लागि भएका पहलका विषयमा भने थप विवरण प्राप्त हुन सकेको छैन।


टिप्पणी