कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–९ रिगौनास्थित खेलकुद मैदानमा वाटिका क्लबको आयोजनामा सम्पन्न टी–१० क्रिकेट प्रतियोगिताको फाइनल खेल विवादमा परेको छ। खेल सञ्चालनमा ढिलाइ, निर्णय प्रक्रियामा अन्योल र पुरस्कार वितरणसम्बन्धी विवादले प्रतियोगिताको समापन खल्लो बनेको स्थानीय खेलप्रेमीहरूले बताएका छन्।

दसैँ, तिहारलगायत चाडपर्वको अवसरमा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा खेलकुद प्रतियोगिता आयोजना हुने गरेका छन्। यस्ता प्रतियोगितामा स्थानीय जनप्रतिनिधि तथा प्रदेश सरकारका मन्त्रीहरूको उपस्थिति पनि सामान्य बन्दै गएको छ। तर, अतिथिको उपस्थितिलाई प्राथमिकता दिँदा खेल व्यवस्थापनमै समस्या देखिने गरेको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेका छन्।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

वाटिका क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनलमा भीमदत्त नगरपालिका–१३ र दोधारा चाँदनी नगरपालिका–५ बीच प्रतिस्पर्धा भएको थियो। कार्यक्रममा भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक विशिष्ट अतिथि तथा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री प्रकाश रावल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

निर्धारित तालिकाअनुसार दिउँसो १ बजे सुरु हुनुपर्ने फाइनल खेल अतिथि आगमन तथा समय व्यवस्थापनका कारण दिउँसो ३ बजे मात्रै सुरु भएको स्थानीयको भनाइ छ। दिनभर खेलको प्रतीक्षामा बसेका दर्शकले खेल सुरु हुन ढिलाइ हुँदा असन्तुष्टि व्यक्त गरेका थिए।

खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको दोधारा चाँदनी नगरपालिका–५ ले भीमदत्त नगरपालिका–१३ लाई ८९ रनमा रोकेको थियो। त्यसपछि ९० रनको लक्ष्य पछ्याएको दोधारा चाँदनी–५ ले निर्धारित लक्ष्य भेट्टाउन संघर्ष गर्नुपरेको थियो। प्रतिस्पर्धात्मक खेल अन्तिम ओभरसम्म पुगेपछि अन्तिम बलको निर्णयले विवाद निम्त्याएको हो।

दोधारा चाँदनी–५ लाई अन्तिम बलमा जितका लागि तीन रन आवश्यक थियो। उक्त बल लेग साइडतर्फको बाउन्ड्री नजिक पुगेपछि फिल्डरले बल रोकेको दाबी गरेका थिए। तर, मैदान नजिक रहेका केही खेलप्रेमी तथा सञ्चारकर्मीले बल बाउन्ड्री पार गरिसकेको देखेको बताएका छन्। यही विषयमा खेलको अन्तिम नतिजालाई लिएर अन्योल सिर्जना भएको थियो।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

खेलमा कहिलेकाहीँ निर्णयसम्बन्धी विवाद उत्पन्न हुनु असामान्य होइन। तर, यस्तो अवस्थामा म्याच अम्पायरको स्पष्ट निर्णय, आवश्यक परे सीमारेखा हेर्ने अधिकारीको भूमिका तथा उपलब्ध भए भिडियो प्रमाणका आधारमा विवाद समाधान गर्नुपर्ने खेलप्रेमीहरूको भनाइ छ।

प्रतियोगिता सकिएको करिब एक घण्टापछि आयोजक पक्षका तर्फबाट जनक जोशीले भीमदत्त नगरपालिका–१३ लाई विजेता घोषणा गर्न खोजेको तर अम्पायर तथा आयोजक टोलीकै केही सदस्यले रोकेको स्थानीयको भनाइ छ। त्यसबेलासम्म दोधारा चाँदनी–५ का खेलाडीले आफूहरू विजयी भएको ठानेर उत्सवसमेत मनाइसकेका थिए।

अन्ततः आयोजकले दुवै टोलीलाई प्रथम घोषणा गर्दै विजेता र उपविजेताका लागि छुट्याइएको पुरस्कार रकम जोडेर आधा–आधा वितरण गर्ने निर्णय सार्वजनिक गरेको बताइएको छ। आफूहरू विजयी भएको दाबी गर्दै दोधारा चाँदनी–५ को टोली पुरस्कार नलिई फर्किएको थियो। यता भीमदत्त नगरपालिका–१३ को टोली भने पुरस्कार लिन लाइनमा बसेको एक दर्शकले बताए।

प्रतियोगिताको अन्तिम नतिजा विवादित बनेपछि खेलाडीको मनोबल, आयोजकको व्यवस्थापकीय क्षमता र स्थानीयस्तरका खेलमा अपनाइने निर्णय प्रक्रियामाथि प्रश्न उठेको छ। खेलअघि नै स्पष्ट नियम, निष्पक्ष अम्पायरिङ र विवाद समाधानको व्यवस्था गरिएको भए यस्तो अवस्था आउन नदिने स्थानीय खेलप्रेमीहरूको भनाइ छ।

स्थानीयस्तरमा आयोजना हुने प्रतियोगिताले खेलाडीको प्रतिभा उजागर गर्नुका साथै खेलकुद संस्कृतिको विकासमा योगदान पुर्‍याउनुपर्ने हो। तर, खेल सञ्चालन तथा नतिजा निर्धारणमा अन्योल उत्पन्न हुँदा खेलाडी र दर्शक दुवै निराश हुने अवस्था सिर्जना हुन्छ। 

प्रदेश सरकारका मन्त्री तथा स्थानीय जनप्रतिनिधिलाई प्रमुख अतिथि बनाउनु आफैँमा समस्या नभए पनि उनीहरूको समयअनुसार खेलको तालिका परिवर्तन गर्दा खेलाडी र दर्शकलाई असर पर्न नदिन आयोजकले विशेष ध्यान दिनुपर्ने देखिन्छ। अतिथिको सम्मान र खेलको मर्यादा दुवैलाई समान प्राथमिकता दिनु आवश्यक छ।