कञ्चनपुर, १० भदौ २०८३ — कञ्चनपुरमा सशस्त्र प्रहरीले प्राप्त विशेष सूचनाका आधारमा मंगलबार राती करिब ३ लाख ७८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

बेलौरी नगरपालिका–६, नकैयास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म बेलौरीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक योग्यबहादुर बस्नेतको कमाण्डमा खटिएको सात जनाको टोलीले चेकजाँच गर्ने क्रममा सामान बरामद गरेको हो।

प्रहरीका अनुसार बेलौरी नगरपालिका–१०, भुडाका करिब ३० वर्षीय मोहन चौधरीसहितबाट से ५ प ६९६५ र से २ प ४३११ नम्बरका दुई थान मोटरसाइकल बरामद गरिएको छ। दुईवटै मोटरसाइकलको मूल्य प्रतिथान १ लाख ६० हजार रुपैयाँका दरले ३ लाख २० हजार रुपैयाँ रहेको जनाइएको छ।

यस्तै, प्लास्टिक डोरी ८ हजार २ सय, फलामको तावा १२ हजार, लेभल पाइप ३० हजार र प्लास्टिक ८ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका मोटरसाइकल तथा अन्य सामान गरी कुल ३ लाख ७८ हजार २ सय रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।