कञ्चनपुर, १६ जेठ
भीमदत्त नगरपालिका–३ मा अवस्थित विष्णु मन्दिर पश्चिम धाम धार्मिक, ऐतिहासिक तथा आध्यात्मिक दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित रहेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण शान्त वन क्षेत्रको बीचमा रहेको यो मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको केन्द्र बन्ने सम्भावना बोकेको स्थानीयवासीको भनाइ छ।
कसरी शुरु भयो बिष्णु मन्दिर बन्ने परिकल्पना
स्थानीय तथा धार्मिक क्षेत्रमा अध्ययन भएका मान्यजनहरुका अनुसार मन्दिरमा स्थापित भगवान् विष्णुको प्राचीन मूर्ति नजिकैको तुमडी खोलामा बाख्रा चराउँदै गरेका गोठालाहरूले फेला पारेका थिए। यही ऐतिहासिक घटनाले यस स्थलको धार्मिक महत्वलाई थप उचाइ दिएको विश्वास गरिन्छ।

धार्मिक पर्यटकहरु आउनुको मुख्य कारण
मन्दिरका मुख्य पुजारी बाबा रामदास जी महाराज विगत करिब पाँच दशकदेखि अन्न ग्रहण नगरी केवल फलफूलको भरमा जीवनयापन गर्दै आएको बताइन्छ। उहाँको तपस्या र आध्यात्मिक साधनाका कारण देशका विभिन्न क्षेत्रबाट श्रद्धालुहरू यहाँ दर्शनका लागि आउने गरेका छन्। यसका साथै विभिन्न समयमा मन्त्री, सांसद तथा प्रधानमन्त्रीसमेत मन्दिर दर्शनका लागि पुगेको स्थानीयहरू बताउँछन्।
मानव बस्तीबाट करिब एक किलोमिटर टाढा अवस्थित मन्दिर माथिल्लो र तल्लो भागमा रहेका दुई पवित्र तलाउको बीचमा रहेको छ। प्राकृतिक हरियाली, शान्त वातावरण र धार्मिक आस्थाको संगमले यस क्षेत्रलाई आकर्षक धार्मिक–पर्यटकीय गन्तव्य बनाएको छ।
पुर्वाधार बिकासको अवस्था
मन्दिरसम्म पुग्ने मुख्य मार्ग अझै कच्ची, धुलाम्मे तथा खाल्टा खुल्टीयुक्त अवस्थामा रहेको छ। सडकको कमजोर अवस्थाले तीर्थयात्री तथा पर्यटकलाई आवतजावतमा कठिनाइ भइरहेको स्थानीयको गुनासो छ। मन्दिर क्षेत्रमा विद्युत् सेवा पुगे पनि पर्यटन प्रवर्द्धनका लागि आवश्यक अन्य पूर्वाधार भने अझै अपर्याप्त रहेको बताइन्छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले विष्णु मन्दिर पश्चिम धामलाई औपचारिक रूपमा धार्मिक–पर्यटकीय क्षेत्र घोषणा गरी सडक स्तरोन्नति, पूर्वाधार विकास, संरक्षण तथा प्रभावकारी प्रचार–प्रसारका कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्। उनीहरूका अनुसार आवश्यक पूर्वाधार विकास गर्न सकिएमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने, स्थानीय युवालाई रोजगारीका अवसर सिर्जना हुने तथा नगरको आर्थिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुग्नेछ।
स्थानीयको भनाइमा, विभिन्न तहका जनप्रतिनिधि तथा उच्च पदस्थ व्यक्तिहरूले मन्दिरको विकासका लागि पटक–पटक प्रतिबद्धता जनाए पनि ती योजनाहरू अझै कार्यान्वयन हुन सकेका छैनन्। त्यसैले अब आश्वासनभन्दा पनि परिणाममुखी कामको आवश्यकता रहेको उनीहरूको जोड छ।
सम्भावना
धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यको अनुपम संगम रहेको विष्णु मन्दिर पश्चिम धामलाई व्यवस्थित रूपमा विकास गर्न सके सुदूरपश्चिम प्रदेशकै एक प्रमुख धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने देखिन्छ। स्थानीयवासीले यसलाई केवल भीमदत्त नगरपालिकाको मात्र नभई सम्पूर्ण सुदूरपश्चिम प्रदेशको गौरवको रूपमा संरक्षण र प्रवर्द्धन गर्न आग्रह गरेका छन्।
