धनगढी- जेठ १३, कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित सेतोपुल पूर्वतर्फको मुख्य सडक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु भत्काउने कार्य सुरु गरिएको छ।
आज साँझदेखि धनगढी उपमहानगरपालिकाको नेतृत्वमा नगरप्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त उपस्थितिमा डोजर प्रयोग गरी संरचना हटाउन थालिएको हो।
धनगढी उपमहानगरपालिका–८, सिट नं. ०२७–०७६९–४ अन्तर्गत कि.नं. ६५ को क्षेत्रफल १३ हजार ६ सय ४५ दशमलव २५ वर्गमिटर सरकारी जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएको देखिएपछि हटाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ। उक्त जग्गा साविक त्रिनगर २(क) का कि.नं. २३२ र २३४ अन्तर्गत पर्ने बताइएको छ।
उक्त क्षेत्रमा करिब १८ देखि २० वटा सटर तथा पक्की घरहरु भत्काइएको छ। सेतोपुल पूर्वतर्फ र वडा कार्यालय पश्चिमतर्फको बीच भागमा रहेका संरचनाहरु हटाइएको हो। साँझ करिब ७:३० बजेसम्म पतञ्जली योग केन्द्र (सार्वजनिक सौचालय) आसपासका पक्की घर तथा सटरहरु पूर्णरुपमा भत्काइएको र त्यसबाट निस्किएको फोहोर व्यवस्थापनको काम समेत जारी रहेको जनाइएको छ।
यसअघि धनगढी उपमहानगरपालिकाले २०८३ वैशाख २९ गते सूचना जारी गर्दै अतिक्रमित सरकारी जग्गामा निर्माण गरिएका भवनहरु सात दिनभित्र स्वयं खाली गर्न निर्देशन दिएको थियो। तोकिएको समयभित्र खाली नगरे कानुनी कारबाही गरिने चेतावनीसमेत पालिकाले दिएको थियो।
नेपाल सरकारको अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने निर्देशनअनुसार पालिकाले अभियान सञ्चालन गरेको जनाएको छ। तर, उक्त क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय तथा आफूलाई सुकुम्बासी बताउने व्यक्तिहरुले उचित व्यवस्थापन नगरी विस्थापित गर्न खोजिएको भन्दै विरोध जनाएका छन्। उनीहरुले आफ्नो व्यवस्थापन नगरी जबरजस्ती हटाउन खोजिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
