ब्रेकिङ न्युज

Default Placeholder

बिष्णु दत्त जोशी/ चैत्र-१९,महेन्द्रनगर — कुमारी बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्वअन्तर्गत “रक्तदान गरौँ, जीवन बचाऔँ” नारासहित रक्तदान कार्यक्रम आयोजना गरेको छ।महेन्द्रनगर शाखा कार्यालय पछाडिको परिसरमा सम्पन्न उक्त कार्यक्रममा बैंकका कर्मचारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा कुल ३५ जनाले रक्तदान गरेका छन्। संकलित रगतले भविष्यमा बिरामी तथा आपतकालीन अवस्थाका बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा बोल्दै महेन्द्रनगर शाखा प्रमुख खडक सिंह मडैले रक्तदानलाई जीवनदानसँग तुलना गर्दै वार्षिकोत्सवलाई औपचारिकतामा मात्र सीमित नराखी समाजप्रति उत्तरदायी बन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए। उनले ३५ जनाबाट संकलित रगतले धेरैको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। साथै, उनले कार्यक्रममा सहभागी सबै रक्तदाता तथा सहयोगीप्रति आभार व्यक्त गरे।

त्यसैगरी, कुमारी बैंककी सुदूरपश्चिम प्रदेश प्रमुख संगीता शर्मा चटौतले बैंकले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरिन्। उनले २५ वर्षको यात्रा केवल उपलब्धिमा सीमित नभई समाजप्रतिको दायित्वसमेत भएको बताउँदै यस्ता कार्यक्रममार्फत सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गरिएको स्पष्ट पारिन्। रक्तदान जस्तो मानवीय कार्यलाई व्यवहारमा उतार्नु आवश्यक रहेको उनले जोड दिइन्।

कुमारी बैंकले कञ्चनपुर जिल्लामा ६ वटा शाखा र ३ वटा काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ भने सुदूरपश्चिम प्रदेशभर २३ वटा शाखा सञ्चालनमा रहेका छन्। साथै, प्रदेशका १८ स्थानमा एटिएम सेवा उपलब्ध गराउँदै आएको बैंकले आधुनिक बैंकिङ सेवासँगै सामाजिक क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

रक्तदान जस्ता सामाजिक कार्यक्रमले बैंकलाई केवल वित्तीय संस्था मात्र नभई समाजप्रति जिम्मेवार संस्थाका रूपमा स्थापित गर्न मद्दत पुगेको छ। यस्ता अभियानले अन्य संस्थाहरूलाई पनि सामाजिक कार्यमा प्रेरित गर्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: