बिष्णुदत्त जोशी
२० मंसिर, २०८२
कंचनपुर :

महाकाली आयुर्वेद औषधालयले बालबालिकाको लागि स्वर्ण विन्दु प्रासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कंचनपुरमा भिमदत्त नगरपालिकाका बाल-बालिकाहरुबाट शुरु गरिने स्वर्ण विन्दु प्रासन मंसिर २२ गते महाकाली आयुर्वेद औषधालयमा हुने तयारी गरिएको छ ।
अभिमुखिकरण कार्यक्रममा भिमदत्त नगरपालिकाका १९ वटै वडाका स्वयमसेविकाहरुको सहभागिता रहेको थियो । बाकी रहेका दुई दिन भित्र स्वयमसेविकाहरुले आ-आफ्ना वडाका बालबालिकाहरुलाइ स्वर्ण विन्दु प्रासनबारे जानकारी गराउने कार्यक्रम रहेको भएतापनी स्वर्ण विन्दु प्रासन कार्यक्रमलाई आउदा दिनमा जिल्लाभरिका पालिकाहरु गर्दै वडा सम्म संचालन गरिने आफुहरुको उदेश्य रहेको महाकाली आयुर्वेद औषधालयका प्रमुख तथा कार्यक्रमका अध्यक्ष डा. सुर्य उपाध्यायले जानकारी गराएका थिए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी कंचनपुर जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहराले अहिले हामीहरु आयुर्वेदको बारेमा जानकार भएपनी हामीले प्रयोग गर्ने मल, खाद तथा किटनाशक औषधिहरुका कारण जडिबुटीहरु समेत ह्रास भइरहेको कुरामा ध्यान नदिइरहेको तर्क राखेका थिए ।
कार्यक्रममा भिमदत्त नगरपालिकाका वडाहरुकी स्वयंसेविकाहरुले आफुहरु लाई समेत बाल-बालिकामा शुरु गरिएको स्वर्ण बिन्दु प्रासन कार्यक्रमले बाल-बालिकाको स्वास्थ्यको लागि एकदमै राम्रो लागेको तथा भविष्यका दिनहरुमा यसबारे वडाका अन्य स्वयंसेविकाहरुलाइ समेत यस्तो तालिम तथा अभिमुखिकरण कार्यक्रममा सहभागी गराइ स्वर्ण बिन्दु प्रासनलाई छिट्टै वडा तहमा संचालन गरिनुपर्नेमा जोड दिएका थिए ।
स्वर्ण विन्दु प्रासन कार्यक्रम ६ महिना देखि ५ वर्ष सम्मका बाल-बालिकाहरुमा लागु हुने र यसले बालबालिकामा स्मरण क्षमता बढाउने, शारिरीक रुपमा तन्दुरुस्त गर्ने लगायतका विभिन्न फाइदाहरु रहेको कार्यक्रमका अध्यक्ष डा. उपाध्यायले जानकारी गराएका छन ।
