
युएई:
संयुक्त अरब इमिरेट्स (UAE) मा २१ वर्षदेखि जेल सजाय भोगिरहेका दार्चुलाका अमर बहादुर बमको मुक्तिका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग तीव्र बन्दै गएको छ। भारतीय नागरिकको ह’त्यामा “मतियार” को आधारमा दोषी ठहर गर्दै सर्वोच्च अदालतले सुनाएको मृत्यु दण्डको फैसला अन्यायपूर्ण रहेको परिवार तथा अधिकारकर्मीहरूको आरोप छ।बमलाई भारतीय नागरिकहरूले रोजगारीको प्रलोभन देखाएर २००३ मा UAE लगेका थिए। त्यही क्रममा एक भारतीय नागरिकको ह’त्यामा मुख्य आरोपी बनेका व्यक्तिहरूले “अमर निर्दोष छन्, हामीले ड्राइभरका रूपमा मात्र प्रयोग गरेका थियौं” भन्ने स्वीकारोक्ति बयान दिए पनि उनले निरन्तर जेल सजाय भोगिरहनुपरेको परिवारको भनाइ छ।
२०३३ साल मंसिर ५ गते दार्चुलाको तत्कालीन धारी गाविस–५ मा जन्मिएका अमर आर्थिक कठिनाइ र पारिवारिक दायित्वका कारण विवाहपछि छिमेकी राष्ट्र भारत रोजगारीका लागि पुगेका थिए। त्यहाँ गाडी चलाउन सिकेपछि पेशागत रूपमा काम गरिरहेका उनका लागि दुबईमा राम्रो आम्दानीको आशाले आकर्षण बनेको थियो। तर UAE पुगेको केही समयमै उनी झुठो अभियोगमा फसाइएका हुन्।
परिवारले विगत दुई दशकमा गरेका कयौं कानुनी अपिल, निवेदन र आग्रहहरू आश्वासनमै सीमित भएको बताउँदै सरकारले कूटनीतिक च्यानलमार्फत क्षमा प्रक्रिया, कानुनी पुनरावलोकनदेखि सबै सम्भावित विकल्प तत्काल प्रयोग गर्नुपर्ने माग उठिरहेको छ।उक्त मुद्दामा नेपाल सरकारले प्रभावकारी कदम चाल्न नसकेको आलोचना बढ्दै जाँदा अमरको घर फर्किने आशा भने अझै मरेको छैन। अधिकारकर्मी र स्थानीयवासीहरूले “अमर निर्दोष छन्, २१ वर्षको जेल सजाय नै ठूलो अन्याय हो” भन्दै सरकारलाई दबाब दिने आह्वान गरेका छन्।
