कञ्चनपुर, असोज १४ गते – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगर क्षेत्र भित्रका ६ वटा विद्यालयलाई पुर्ण अनुदानमा नयाँ बस हस्तान्तरण गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबार नगर परिसरमा आयोजित एक कार्यक्रमका बीच बसहरू सम्बन्धित विद्यालयलाई बुझाइएको हो।
नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, स्थानीय बासिन्दा, विद्यार्थी तथा पत्रकार सहितको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा ६ वटा विद्यालयलाई ५० सिट क्षमता भएका २०२६ मोडलका ६ वटा बस हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ।
बस हस्तान्तरणसँगै दूरदराजका विद्यार्थीहरूलाई विद्यालयसम्म पुग्न र घर फर्किन निकै सहज हुने विश्वास लिइएको छ। विद्यार्थीहरूको सुरक्षित, सहज र नियमित आवतजावतले विद्यालयमा उनीहरूको पहुँच र उपस्थितिमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ। साथै, सवारी साधनको पहुँचले नगरको समग्र शैक्षिक गतिविधिलाई अझ बढी प्रभावकारी र गुणस्तरीय बनाउन सकारात्मक योगदान पुर्याउने नगर प्रमुख ओझाले बताउनुभयो।


टिप्पणी