
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिभा रावललाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी दिइएको छ। शुक्रबार शीतल निवासमा आयोजित समारोहबीच उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
सरकारले रावललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीसमेत सुम्पिएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत महिला क्लस्टरबाट प्रतिनिधिसभामा निर्वाचित रावल रास्वपाको उदयसँगै राजनीतिमा सक्रिय रहँदै आएकी नेतृ हुन्।
पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेकी रावलले ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम निर्माता भएर काम गरेकी थिइन्। त्यहाँ उनले रवि लामिछानेसँग नजिकबाट सहकार्य गरेकी थिइन्। पछि उनले लामिछानेको निजी सचिवालयमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा जन्मिएकी रावल स्नातक तहसम्म शिक्षित छन्। एक दशकभन्दा बढी पत्रकारितामा बिताएकी उनले पछिल्लो समय सक्रिय राजनीतिमार्फत आफ्नो भूमिका विस्तार गर्दै आएकी छन्।
