डडेल्धुरा, २३ फागुन — डडेल्धुरा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद् यात्रा तय गरेका हुन्।
यस जितसँगै डडेल्धुरामा लामो समयदेखि कायम रहेको कांग्रेसको करिब ३४ वर्षको राजनीतिक विरासत पनि अन्त्य भएको छ। बि स २०२७ साल चैत ३० गते जन्मिएका जोशी डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ का स्थायी बासिन्दा हुन्। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका उनले लामो समय विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आएका छन्।
उनको राजनीतिक यात्रा बि.स. २०४५ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा सुरु भएको थियो। बि.स. २०४८ सालमा शिक्षण पेसामा आबद्ध भएका उनी शिक्षक संगठन मार्फत पनि सक्रिय रहे। बि.स. २०५१ सालमा नेकपा एमाले डडेल्धुरा–काठमाडौँ सम्पर्क मञ्चको सदस्य बनेर पार्टी राजनीतिमा सक्रिय भएका थिए।
जोशीले डडेल्धुराका विभिन्न विद्यालयहरूमा अध्यापनसमेत गराएका थिए। पार्टीभित्र उनले क्रमशः विभिन्न जिम्मेवारी सम्हाल्दै २०५३ सालमा नेकपा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य तथा २०५४ सालमा जिल्ला कमिटी सचिव बनेका थिए।राजनीतिसँगै उनी पत्रकारितामा पनि सक्रिय रहे। २०५५ सालतिर उनले कञ्चनपुरबाट प्रकाशन हुने ‘शिखा’ साप्ताहिकको प्रमुख सम्पादकको जिम्मेवारी सम्हालेका थिए। पत्रकारितामार्फत उनले कान्तिपुर, नेपाल साप्ताहिक तथा भारतको ‘हिन्दुस्तान टाइम्स’ लगायत सञ्चारमाध्यममा स्तम्भ लेख्दै समसामयिक राजनीतिक तथा नीतिगत विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।
पार्टी संगठनमा लामो समय काम गरेका जोशी २०६९ सालमा एमाले डडेल्धुराको जिल्ला अध्यक्षसमेत बने। उनले २०६२/०६३ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाउँदै लोकतान्त्रिक आन्दोलनमा पनि भूमिका निर्वाह गरेका थिए।
निर्वाचन राजनीतिमा भने उनले विभिन्न उतार–चढाव पनि भोगेका छन्। २०७० सालको संविधानसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए भने २०७४ सालको प्रदेशसभा निर्वाचनमा कर्णबहादुर मल्लसँग हार व्यहोरेका थिए।
तर २०७९ सालको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनले पुनः राजनीतिक रूपमा बलियो उपस्थिति देखाएका थिए। २०७८ सालतिर एमाले परित्याग गरेपछि उनी स्वतन्त्र राजनीतिक यात्रामा सक्रिय बनेका थिए।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि सरकार परिवर्तनको माग चर्किएसँगै उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।
शैक्षिक रूपमा पनि जोशी उच्च अध्ययन गरेका नेता हुन्। नेपालमै राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध, विकास नीति, उद्यम विकास, सार्वजनिक वित्त, सार्वजनिक प्रशासन तथा मानवअधिकारका क्षेत्रमा अनुभव भएका जोशी सामाजिक मुद्दामा खुलेर आवाज उठाउने नेताका रूपमा परिचित छन्।
