बिष्णु दत्त जोशी
१८ माघ,२०८२
कञ्चनपुर : महेन्द्रनगर बजारमा सञ्चालनमा रहेका औषधि पसल, मेडिकल तथा औषधि सम्बन्धी व्यवसायहरूमा औषधि व्यवस्था विभागको टोलीले कडाइका साथ अनुगमन गरेको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रतिनिधिसहित खटिएको टोलीले औषधि व्यवसायहरू नियमअनुसार सञ्चालन भए/नभएको विषयमा स्थलगत अनुगमन गरेको हो।

अनुगमनका क्रममा अधिकांश औषधि पसलहरूमा व्यवसाय दर्ता भएको व्यक्तिको प्रत्यक्ष उपस्थिति नदेखिएको पाइएको छ। साथै केही पसलहरूमा तोकिएको मापदण्डबाहेकका औषधि बिक्रीका लागि राखिएको, औषधि भण्डारण तथा व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्ड पूरा नभएको अवस्था भेटिएको अनुगमन टोलीले जनाएको छ।
अनुगमन सुरु भएको समय महेन्द्रनगरका कतिपय औषधि पसलहरू बन्द अवस्थामा समेत भेटिएका थिए। यसले औषधि व्यवसाय सञ्चालनमा पारदर्शिता र जिम्मेवारीको आवश्यकता अझै रहेको देखाएको अनुगमनकर्ताहरूको भनाइ छ।
औषधि व्यवस्था विभागले नेपालगञ्जबाट समय–समयमा अनुगमन गर्दै आएको जानकारी दिँदै आर्थिक वर्ष २०८२/०८३ भित्र कञ्चनपुर जिल्लामा गरिएको यो दोस्रो अनुगमन भएको स्पष्ट पारेको छ। औषधि व्यवसायमा देखिएका कमी–कमजोरी औँल्याउँदै व्यवसायीहरूलाई आवश्यक सुझाव दिने तथा मापदण्ड उल्लङ्घन गर्नेहरूमाथि कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।
