९ पुस, २०८२
बिष्णु दत्त जोशी

कञ्चनपुर:
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित नागरिकहरूको आवास, क्षतिपूर्ति र पुनर्स्थापनाको माग गर्दै सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका कानून संकायका विभिन्न सेमिष्टरमा अध्ययनरत विद्यार्थीहरुको समुहले उच्च अदालत दिपायल–महेन्द्रनगर इजलासमा परमादेश माग गर्दै रिट निवेदन दायर गरेको छ।
ईश्वर दत्त भट्ट, भावना साउद, बसन्ती बोहरा, मुकेश बिष्ट र पूजा सोनार सम्मिलित निवेदक समूहले रिटमा वि.सं. २०२२ सालमा तत्कालीन राजकीय निर्णय अनुसार पहाडी जिल्लाबाट तराई झरेका नागरिकहरू शुक्लाफाँटा क्षेत्रमा बसोबास गर्दै आएको र वि.सं. २०५१ मा आरक्ष विस्तार तथा २०५८ मा जबरजस्ती विस्थापनपछि २४ वर्षदेखि बासस्थान विहीन जीवन बिताउन बाध्य भएको इतिहास उल्लेख गरेका छन्।
रिटमा आरक्ष पीडितहरू संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने, सम्पत्तिको र आवासको मौलिक अधिकारबाट वञ्चित भएको जनाउँदै तत्काल राहत, दीर्घकालीन पुनर्स्थापना तथा सरकारका नाममा परमादेश जारी गर्न माग गरिएको छ।
आरक्ष पिडितका मागमा सरोकारवाला पक्ष मौन बस्न पाईदैन भन्दै, यस अघि समेत कानुन संकायका विद्यार्थि ईश्वर दत्त भट्ट सहितका विद्यार्थिहरु आरक्ष पिडितले ज्ञापन पत्र बुझाउदा साथ देखिएका थिए ।
