२९ असोज २०८२
कंचनपुर :
दैजी-जोगबुढा सडक खण्डको स्तरोन्नति हुन नसक्दा भित्री मधेश भनेर चिनिने आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकाका जनताहरु समस्यामा परेका छन । बि.स. २०७४ सालमा नार्गाजुन कन्स्ट्रक्सनसंग २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भए पनि हालसम्म ५ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । कंचनपुरको दैजीचोकबाट उत्तरतर्फ बेदकोटताल हुँदै डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका तथा आलिताल गाउँपालिका जोडने एकदमै छोटो दुरीको बाटोको रुपमा रहेको उक्त बाटो स्तरोन्नति हुन नसक्दा आलिताल गाउँपालिका तथा पर्शुराम नगरपालिकाका जनताहरु महेन्द्रनगर आवत जावत गर्न लामो दुरीको बाटो प्रयोग गर्नुपर्ने समस्यामा रहेका छन ।

उक्त सडकखण्डको दुरी कञ्चनपुरको बेदकोट नगरपालिका-२ दैजीबाट डडेल्धुरा जिल्लाको पर्शुराम नपा-१२ जोगबुढा बजार सम्म ४० किमि रहेको छ । सडक खण्ड तराईको जिल्ला कञ्चनपुरबाट डडेल्धुरा जिल्लाको भित्री मधेस हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला पुग्ने छोटो बाटोको रूपमा रहेको दैजी–जोगबुढा सडक निर्माणले प्राथमिकता नपाउँदा जिल्लाबासीहरुले बर्षेनि समस्या झेल्नुपरेको छ ।उक्त सडकखण्डमा २०८२ असोज १४ गते बेदकोट न.पा.३ सिउडीबाग स्थित दैजि-जोगबुढा जाने बोलेरो जीप दुर्घटना हुदा २ बर्षिय बालिकाको मृत्यु भएको थियो । दैजिबाट जोगबुढा तर्फ जादै गरेको से. १ ज. ४१७ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी २० मिटर तल खस्न गई गाडीमा सवार वेदकोट नगरपालिका ४ बस्ने तारा पालकी २ बर्षिय छोरी युबिका पालको मृत्यु भएको थियो ।
दुर्घटनाको जोखिमका बावजुत बाटो स्तरोन्नति नहुदा वेदकोट नगरपालिकाको दैजीदेखि डडेल्धुरा जिल्लाको सिमाना लिप्ना सम्म १२ किलोमिटर सडक निर्माणका लागि ९ वर्ष अघि २०७४ सालमा नार्गाजुन कन्स्ट्रक्सनसंग २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भए पनि हालसम्म ५ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका सुचना अधिकारी लक्ष्मण राज जोशीका अनुसार, सडक निर्माणका लागि पछिल्लो पटक निर्माण पक्षलाई ४२० लिटर डिजेल दिदै एक्जाभेटर प्रयोग गरि बाटो सुधार गरेको बताएका छन । उक्त सडकखण्डमा दैनिकरुपमा गाडी चलाउने चालकहरुका अनुसार बाटोको अवस्था गाडी चलाउन नसकिने भएपनी सरोकारवाला निकाय मौन रहेको हुदा चालक वर्गले आपसमा मिलेर बाटोमा ढुङगा हाल्दै गाडी चलाउदै गर्नुपरेको बताएका छन ।
