कञ्चनपुर, ६ असोज २०८३ — महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रा.लि. कञ्चनपुरको सोमबार सम्पन्न निर्वाचनबाट नवीन भट्ट अध्यक्षमा निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष भट्टसहित ११ सदस्यीय कार्यसमितिले मंगलबार पदभार ग्रहण गरेको छ।
भीमदत्त नगरपालिका–४, महेन्द्रनगरस्थित कम्पनीको कार्यालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै पदभार सम्हालेका हुन्।
निर्वाचनबाट अध्यक्षमा नवीन भट्ट निर्वाचित हुँदा सदस्यहरूमा धिरेन्द्रबहादुर चन्द, खगेन्द्र भट्ट, पुष्करराज जोशी, रमेश थापा, पदमसिंह भाट, देवराज जोशी, आनन्दराज जोशी, भवानीसिंह रावल र दीपक केसी निर्वाचित भएका थिए।
सदस्य पदमा सुरेन्द्रसिंह भण्डारी र बलराम पन्तले समान मत प्राप्त गरेका थिए। समान मत आएपछि पन्तको सहमतिमा भण्डारीलाई सदस्य पदमा निर्वाचित गरिएको थियो। त्यसपछि भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि अध्यक्ष भट्टले कम्पनीको व्यवस्थापनलाई प्रभावकारी बनाउँदै यातायात व्यवसायीको हित र संस्थागत गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचनका क्रममा केही विवादित भाष्य प्रयोग भएको भन्दै गुनासाहरू आएको उल्लेख गर्दै अध्यक्ष भट्टले त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए। उनले आगामी दिनमा सबै यातायात व्यवसायीलाई एकताबद्ध गर्दै कम्पनीलाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
नवनिर्वाचित कार्यसमितिले कम्पनीको व्यवस्थापन सुधार, व्यवसायीका समस्या सम्बोधन तथा संस्थागत गतिविधिलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ।


टिप्पणी