कञ्चनपुर, भदौ १८ गते – कञ्चनपुर जिल्लाका किसानलाई रासायनिक मल उपलब्ध गराउने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय महेन्द्रनगरसँग जिल्लामा रहेका कृषकको संख्या र खेतीयोग्य जमिनको यकिन विवरण नरहेको पाइएको छ, सुचना अधिकारीका अनुसार, तथ्यांक आवश्यक परेमा कृषि ज्ञान केन्द्र मार्फत लिन सकिने तर कार्यालयसंग भने कुनै जानकारी नहुने बताएका छन।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कम्पनी ऐन, २०५३ अन्तर्गत स्थापित कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा आवश्यक पर्ने रासायनिक मल उपलब्ध गराई विभिन्न सहकारी संस्थामार्फत किसानसम्म वितरण गर्दै आएको छ। तर, मल वितरणको जिम्मेवारीमा रहेको कार्यालयसँग जिल्लाको कृषि क्षेत्र र किसानको वास्तविक अवस्था सम्बन्धी आधारभूत तथ्यांक नै नरहेको सूचना अधिकारी कृष्णबहादुर डिसीले जानकारी दिएका छन्।
पछिल्लो असारमा धान रोपाइँको समयमा कञ्चनपुरका किसानले मलको अभाव झेल्नुपरेको भन्दै विभिन्न माध्यमबाट समाचार तथा गुनासाहरू सार्वजनिक भएका थिए। जिल्लामा कुन समयमा कति मल आवश्यक पर्छ भन्ने यकिन तथ्यांक नहुँदा माग र आपूर्तिबीच समस्या देखिने गरेको किसानहरुको भनाइ रहेको छ।
सूचना अधिकारी डिसीका अनुसार कार्यालयमा मल आवश्यक परेको समयमा मात्र सेवाग्राही आउने गरेका छन्। कार्यालयको मुख्य गेटमा प्रायः ताल्चा लगाइएको देखिने विषयमा उनले कार्यालय परिसरभित्र ठूला सवारीसाधन प्रवेश नगर्ने भएकाले गेट बन्द राख्ने गरिएको र आवश्यकता पर्दा मात्र खोल्ने गरिएको बताए।
यस्तो छ मलको विवरण
आर्थिक वर्ष २०८१/०८२ को बाँकी मौज्दातमा युरिया ३४५.६५ मेट्रिक टन, डीएपी ६०.८५ मेट्रिक टन र पोटास ७३.०५ मेट्रिक टन रहेको थियो।
आर्थिक वर्ष २०८२/०८३ मा कार्यालयले युरिया ४ हजार ६८६ मेट्रिक टन, डीएपी २ हजार ४२९ मेट्रिक टन, पोटास १८५ मेट्रिक टन र कृषि चुन ६३ मेट्रिक टन प्राप्त गरेको जनाएको छ।
सोही अवधिमा युरिया ४ हजार ९८९.५० मेट्रिक टन, डीएपी २ हजार ४०१.६५ मेट्रिक टन, पोटास १३९.६० मेट्रिक टन र कृषि चुन १.५० मेट्रिक टन बिक्री भएको कार्यालयको विवरणमा उल्लेख छ।
असार मसान्तसम्म कार्यालयमा युरिया ४२.१५ मेट्रिक टन, डीएपी ८८.२० मेट्रिक टन, पोटास ११८.४५ मेट्रिक टन र कृषि चुन ६१.५० मेट्रिक टन मौज्दात रहेको थियो।
यस्तै, चालु आर्थिक वर्षको साउन महिनामा कार्यालयले युरिया ७४४ मेट्रिक टन र डीएपी ४३.५ मेट्रिक टन प्राप्त गरेको छ। साउन महिनामा युरिया ६८२.५५ मेट्रिक टन, डीएपी ३८.०५५ मेट्रिक टन र पोटास ११ मेट्रिक टन बिक्री भएको कार्यालयले जनाएको छ।
कृषकको संख्या, खेतीयोग्य क्षेत्रफल र बालीअनुसार मलको आवश्यकताको यकिन तथ्यांक नहुँदा जिल्लामा मल व्यवस्थापन तथा वितरण प्रणाली थप प्रभावकारी बनाउन चुनौती देखिएको छ। समयमा मल नपाउँदा उत्पादनमा असर पर्ने भन्दै किसानले प्रत्येक खेती सिजनमा मलको सहज उपलब्धता सुनिश्चित गर्नुपर्ने माग गर्दै आएका छन्।


टिप्पणी