कञ्चनपुर, १७ भदौ २०८३ – कञ्चनपुरमा बुधबार केही समयमै यस वर्षकै सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जिल्लाको सुन्दरपुरस्थित मौसम मापन केन्द्रमा ९२.७ मिलिमिटर वर्षा मापन गरिएको हो।
महाशाखाले अझै बर्षा हुनसक्ने भन्दै जिल्लावासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी कञ्चनपुर हुँदै बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढीको जोखिम रहेकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन भनिएको छ।
यसैबीच सुदूरपश्चिमका पहाडी क्षेत्रमा तथा भारतको उत्तराखण्ड क्षेत्रमा भइरहेको भारी वर्षाका कारण महाकाली नदीको जलस्तर समेत बढेको छ। महाकाली नदीमा पानीको बहाव सतर्कता तह पार गरेपछि भारतीय पक्षले बनबासा क्षेत्रमा रहेको शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ३० हजार क्युसेक पुगेको छ।
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोक लगाउने गरिएको छ। नदीमा पानीको बहाव बढेसँगै महाकाली आसपासका बस्ती तथा तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासनले समेत आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
लगातारको वर्षाका कारण जिल्लाका अन्य नदी, खोला तथा जलाधार क्षेत्रमा समेत पानीको बहाव बढ्न सक्ने भएकाले अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान र विपद्को अवस्था आएमा तत्काल सुरक्षाकर्मी तथा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरिएको छ।


टिप्पणी