कञ्चनपुर, ११ भदौ २०८३ — रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीको सिलसिलामा रसुवा पुगेका करिब ९२ जना सम्पर्कविहीन रहेको पाइएको छ।
बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, गोरखा, नुवाकोट, चितवन, धादिङलगायतका जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। बाढी प्रभावित क्षेत्रमा स्थानीय बासिन्दासँगै रोजगारी तथा अन्य सिलसिलामा पुगेका मानिसहरू पनि सम्पर्कविहीन भएका छन्।
हालसम्म प्राप्त विवरणअनुसार सुदूरपश्चिम प्रदेशका कञ्चनपुरका २६ जना, कैलालीका ३३ जना, डडेल्धुराका १७ जना, बाजुराका १४ जना, बैतडीका ६ जना, डोटीका ३ जना, बझाङका ३ जना, अछामका २ जना र दार्चुलाका २ जना गरी १०६ जना सम्पर्क विहीन रहेको बताइएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सम्पर्कसमेत प्रभावित भएकाले सम्पर्कविहीन व्यक्तिहरूको यकिन अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको जनाइएको छ।
यसैबीच, सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बाढी प्रभावित जिल्लामा रोजगारीका लागि पुगेका आफन्तहरू बाढीपछि सम्पर्कमा नआएको भए खोजी कार्यमा सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन्।
सम्बन्धित निकायले सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन तथा खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाउन थालेका छन्।
रसुवामा आएको बाढीपछि सुदूरपश्चिमका १०६ जना सम्पर्कविहीन
रसुवामा आएको बाढीपछि सुदूरपश्चिमका १०६ जना सम्पर्कविहीन


प्रतिक्रिया