कञ्चनपुर, २ भदौ २०८३ – सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम परिमार्जन, प्रशासनिक तथा शासन प्रणाली सुधार र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. किशन दत्त भट्टको नियुक्तिसँगै बजारको आवश्यकता र श्रम बजारसँग मेल खाने गरी पाठ्यक्रम परिमार्जनदेखि समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्मका विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको विश्वविद्यालयले जनाएको छ।
उपकुलपति भट्टका अनुसार विश्वविद्यालयको समग्र सुधारका लागि पाठ्यक्रम सुधार, प्रशासनिक तथा शासन प्रणालीको सुदृढीकरण र विश्वविद्यालयको जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ।
विश्वविद्यालयले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै शिक्षक तथा विद्यार्थीको आत्मविश्वास बढाउने वातावरण निर्माणमा समेत जोड दिएको जनाएको छ।
त्यसैगरी, विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसहरूको शैक्षिक तथा भौतिक अवस्थाको अध्ययन गरी आवश्यक सुधारका योजना बनाउने तयारी गरिएको छ। क्याम्पसहरूको वास्तविक अवस्था पहिचान गर्न शैक्षिक तथा पूर्वाधार अडिट गर्ने योजना विश्वविद्यालयले अघि सारेको छ।
विश्वविद्यालयअन्तर्गतका केही क्याम्पसको जग्गा अतिक्रमण भएको तथा कतिपय क्याम्पसको आफ्नै नाममा जग्गा नभएको अवस्था देखिएपछि जग्गासम्बन्धी समस्या समाधानका लागि समेत पहल भइरहेको उपकुलपति भट्टले बताएका छन्। सार्वजनिक वा स्थानीय तहको जग्गा प्रयोग गरिरहेका क्याम्पसको जग्गा आवश्यक कानुनी प्रक्रिया पूरा गरी विश्वविद्यालयको नाममा ल्याउन सरकार तथा सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी गरिएको उनले बताए।
यसैबीच, विश्वविद्यालयबाट अध्ययन बिदा लिएर अध्ययनका लागि गएका शिक्षक तथा कर्मचारीहरूको अवस्थाबारे अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन विश्वविद्यालयलाई बुझाइसकेको छ। समितिले अध्ययन पूरा गरेका, अध्ययनपछि विश्वविद्यालयमा फर्किएका तथा अध्ययन पूरा गर्न नसकेका शिक्षक–कर्मचारीको अवस्थाबारे अध्ययन गरेको हो।
प्राप्त प्रतिवेदनको विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी विश्वविद्यालयले गरेको जनाएको छ।
विश्वविद्यालयले शैक्षिक गुणस्तर, प्रशासनिक सुधार, पूर्वाधार विकास र विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै सुदूरपश्चिम विश्वविद्यालयलाई थप व्यवस्थित, गुणस्तरीय र समयानुकूल बनाउने प्रयास अघि बढाएको जनाएको छ।


प्रतिक्रिया