कञ्चनपुर, १३ असार – जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतका प्रहरी कार्यालयहरूले जिल्लाभर सञ्चालन गरेको लागुऔषध विरुद्धको विशेष साप्ताहिक कार्यक्रमका क्रममा २४ जनालाई पक्राउ गरेको छ।
प्रहरीले मिति २०८३ साल असार ६ गतेदेखि असार १२ गतेसम्म सञ्चालन गरेको उक्त अभियानका क्रममा लागुऔषध ओसारपसार र बिक्रीवितरणमा संलग्न रहेको आरोपमा २३ जना पुरुष र १ जना महिला गरी जम्मा २४ जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक (DSP) टेक बहादुर रावतका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट १७.१६८ ग्राम खैरो हिरोइन (Brown Sugar), १५ एम्पुल प्रोमेथिजिन (promethazine) र १५ एम्पुल ब्युप्रेनोर्फिन (buprenorphine) बरामद गरिएको छ।
यस अवधिमा लागुऔषध सम्बन्धी कसुरमा संलग्न रहेकाहरू विरुद्ध कुल १२ वटा मुद्दा दर्ता गरी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीले समुदायमा लागुऔषधको बढ्दो विकृतिलाई नियन्त्रण गर्नका लागि आफ्नो सक्रियता र निगरानीलाई थप तीव्रता दिएको बताएको छ।
