कञ्चनपुर, ८ जेठ /सरकारले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद-उल-अजहा) को अवसरमा आगामी जेठ १४ गते बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त दिन सार्वजनिक बिदा हुने जानकारी गराएको हो। विक्रम संवत २०८२ साल फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बकर इदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको थियो।
सोही व्यवस्था बमोजिम यस वर्ष मुस्लिम आयोगबाट आगामी २०८३ साल जेठ १४ गते बिहीबारका दिन बकर इद परेको आधिकारिक जानकारी प्राप्त भएकाले सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले यस पावन पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूका साथै समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ।
