कञ्चनपुर, चैत ५ — महाकाली नदीमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) द्वारा सञ्चालन गरिएको ‘अन्तर–सीमावर्ती रिभर र्याफ्टिङ’ कार्यक्रम आज सम्पन्न हुँदैछ। चैत २ गते नेपालतर्फ दार्चुला जिल्ला र भारततर्फ उत्तराखण्डको पिथौरागढ जिल्लास्थित दुतिबगड ग्रामसभा अन्तर्गत जौलजीवी मैदानमा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। उक्त उद्घाटन समारोह भारतीय एसएसबी मुख्यालय दिल्लीको आयोजनामा उप–महानिरीक्षक प्रशिक्षित बहाराको नेतृत्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा पिथौरागढका प्रहरी अधीक्षक अक्षय प्रह्लाद कोन्डे, इन्डो–टिबेटन बोर्डर पुलिस (आईटीबीपी) ३६ वाहिनीका कमाण्डेन्ट संजय कुमार, ११औँ वाहिनी एसएसबी डीडीहाटका कमाण्डेन्ट अतुल कुमार राय, ५५औँ वाहिनी एसएसबीका कमाण्डेन्ट आशीष कुमार, ५ वाहिनी एसएसबीका कमाण्डेन्ट सुरेन्द्र विक्रम, पिथौरागढका जिल्ला पर्यटन अधिकारी कृती आर्य, धारचुलाका पूर्व विधायक गगन सिंह रजवार तथा नेपालतर्फबाट सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक गुणराज न्यौपाने, सशस्त्र प्रहरी नायब उपरीक्षक पूर्णबहादुर चन्द लगायत करिब १०० जनाको उपस्थिति रहेको थियो।
र्याफ्टिङ कार्यक्रममा भारतीय सुरक्षा निकाय (एसएसबी) का ३६ जना प्रशिक्षार्थी र ९ जना प्रशिक्षक गरी जम्मा ४५ जना सहभागी रहेका छन्। उनीहरूले ६ वटा ठूला र १ वटा सानो डुंगाको प्रयोग गरी र्याफ्टिङ गरेका हुन्।
