कञ्चनपुर, बैशाख २८ — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगति टोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार राति पिकअप दुर्घटना हुँदा एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्।

राति करिब ८ बजे महेन्द्रनगरबाट झलारीतर्फ आउँदै गरेको लु.प्र.०१००१ च २८०६ नम्बरको महेन्द्रा पिकअप अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा बिजुलीको पोलसमेत भाँचिएको छ।

दुर्घटनापछि सोही समयमा विपरीत दिशाबाट साइकलमा आउँदै गरेका कैलाली चुरे गाउँपालिका–१ शिवनगर घर भई हाल शुक्लाफाँटा नगरपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी बनसमेतीमा कार्यरत ३३ वर्षीय सशस्त्र प्रहरी जवान ओमबहादुर चन्दलाई पिकअपले ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका चन्दको टाउको र बाँया खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको र टी एन्ड सी अस्पताल झलारीमा उपचार भइरहेको छ।

पिकअप चालक बैतडी पाटन नगरपालिका–६ निवासी २५ वर्षीय नरेश पन्त तथा साइकल इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेका छन्। दुर्घटनाग्रस्त पिकअप सडकको बाँया किनारमा पल्टिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।