कञ्चनपुर — २०८३ वैशाख ६ गते
कञ्चनपुर उद्योग वाणिज्य संघले लिटिल बुद्ध एकेडेमीका प्रधानाध्यापक श्याम सिंह मौनीलाई सम्मान गरेको छ। आइतबार संघको ३४औँ वार्षिक साधारणसभाको अवसरमा उनलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल तथा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले मौनीलाई माला, दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
लिटिल बुद्ध एकेडेमीमार्फत शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको कदरस्वरूप उनलाई सम्मान गरिएको संघका महासचिव राहुल भट्टले जानकारी दिएका छन्।
गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय रूपमा सहभागी गराउने कार्यमा सफल मौनीले लिटिल बुद्ध एकेडेमीमार्फत कञ्चनपुर जिल्ला मात्र नभई सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरूलाई समेत सहभागी गराउँदै आएका छन्।
