कञ्चनपुर, जेठ २२ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल आजबाट सुदुरपश्चिम भ्रमणमा रहेका छन। टिकापुरमा आयोजना हुने अन्तर व्यवस्थापिका सम्मेलन अन्तर्गत सुदूरपश्चिम प्रदेश सभाका सभामुख, प्रदेशसभा सदस्य तथा पदाधिकारीहरूको टोलीले प्रदेशका महत्वपूर्ण पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन गरेका छन।
धनगढी विमानस्थलबाट सभामुख अर्याल भक्कनी धाम, ब्रह्मदेव तथा टनकपुर क्षेत्रको भ्रमणमा निस्कने तथा भ्रमणपश्चात् उक्त टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गर्नेछ।
त्यसपछि टोलीले दोधारा–चाँदनी क्षेत्रको भ्रमण गर्दै दोधारा–चाँदनी पुल तथा सुख्खा बन्दरगाहको स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ। अवलोकन भ्रमणपछि सहभागीहरू टिकापुरतर्फ प्रस्थान गर्नेछन्।
सम्मेलनको दोस्रो दिन जेठ २३ गते शनिबार बिहान सहभागीहरूको दर्ता तथा स्वागत कार्यक्रम सञ्चालन हुनेछ। त्यसपछि औपचारिक उद्घाटन सत्र आयोजना गरिनेछ। उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सभामुखको सभापतित्व रहने तथा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सभामुखको सहभागिता रहने जनाइएको छ।
प्रदेश सभा सचिवालयका अनुसार सम्मेलनले संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रदेश र संघीय व्यवस्थापिकाबीच अनुभव आदानप्रदान, समन्वय तथा संसदीय अभ्यासका विविध विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
यस सम्मेलनमा देशभरका व्यवस्थापिकासँग सम्बन्धित प्रतिनिधि तथा पदाधिकारीहरूको सहभागिता रहनेछ। सम्मेलनमार्फत सुदूरपश्चिम प्रदेशका धार्मिक, पर्यटकीय तथा विकासका सम्भावनायुक्त क्षेत्रहरूको प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
