चैत्र १४, महेन्द्रनगर — महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीले कक्षा–१२ का विद्यार्थीहरूको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। कञ्चन ब्यान्केट्सको पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा पाँच सयभन्दा बढी विद्यार्थीहरूलाई बिदाइ गरिएको विद्यालय स्रोतले जनाएको छ।

विद्यालयका अध्यक्ष श्यामसुन्दर ढकालको प्रमुख आतिथ्य तथा प्रधानाध्यापक श्यामसिंह मौनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिदाइ हुने विद्यार्थीहरूलाई सम्मानपूर्वक उज्ज्वल भविष्यको कामना सहित विदाइ गरिएको थियो।
कार्यक्रममा बोल्दै संस्थापक प्रिन्सिपल मौनीले कक्षा–१२ को अध्ययनपछि विद्यार्थीहरू स्नातक तहका लागि विभिन्न स्थानमा जाने भएकाले उनीहरूको शैक्षिक विकासमा विद्यालयले कुनै कसर बाँकी नराखेको बताए। साथै, आगामी दिनहरूमा समेत आवश्यक परे विद्यालय परिवार सधैँ विद्यार्थीहरूको हितमा साथ रहने प्रतिबद्धता व्यक्त गरे।
सुदूरपश्चिम प्रदेशमै धेरै विद्यार्थी अध्ययन गर्ने विद्यालयहरूमध्ये एकका रूपमा परिचित लिटिल बुद्ध एकेडेमीले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सक्रिय सहभागिता गराउँदै आएको छ।
