१४ फागुन, २०८२
कञ्चनपुर: प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका दिन सवारी साधन सञ्चालनमा कडाइ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सवारी सञ्चालन गर्न नपाइने जनाएको छ।

मतदानका दिन प्रयोग हुने सवारीका लागि कम्तीमा दुई दिनअघि नै आवश्यक प्रक्रिया पूरा गरी अनुमति लिनुपर्नेछ। उम्मेदवार, राष्ट्रिय पर्यवेक्षक, संवैधानिक निकाय तथा सञ्चार माध्यमले तोकिएको सिफारिस सहित निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

एम्बुलेन्स, दमकल, दूध ढुवानी, अस्पताल, विद्युत् तथा अन्य अत्यावश्यक सेवाका सवारी र कूटनीतिक नियोगका सीडी नम्बर प्लेट भएका सवारी भने सञ्चालन गर्न पाइनेछ। यसबाहेक अन्य सवारीको आवतजावत निषेध गरिने प्रशासनले जनाएको छ।
