काठमाडौं, ३० पुस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन आयोग पुगेको छ। आयोगमा पुगेर देउवा पक्षले विशेष महाधिवेशन नभएको व्यहोरा उल्लेख गर्दै निवेदन दर्ता गराएको हो।
‘जानकारी सम्बन्धमा’ शीर्षक दिएर बुझाइएको पत्रमा नेपाली कांग्रेसको नाममा यही पुस २६ देखि २८ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरिएको उल्लेख गरिएको छ। पत्रमा काठमाडौंमा विशेष महाधिवेशन भएको भनी सञ्चारमाध्यममा आएका समाचारहरू कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिक कार्यक्रम नभएको स्पष्ट पारिएको छ।
यद्यपि, यही पुस २६ गतेदेखि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ। महाधिवेशनअन्तर्गत मनोनयन दर्तासहितको निर्वाचन कार्यक्रमसमेत अघि बढिसकेको छ।
विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै आएको देउवा पक्षले सोही व्यहोराको पत्र निर्वाचन आयोगमा बुझाएको हो। पत्रमा भनिएको छ, “नेपाली कांग्रेसको नाममा काठमाडौंमा विशेष महाधिवेशन भएको भनी विभिन्न सञ्चारमाध्यममा आएको भए पनि त्यो कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक कार्यक्रम होइन।”

देउवा पक्षले पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको स्वर्गारोहणका कारण पुस २६, २७ र २८ गते देशभरका सबै पार्टी कार्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी पनि आयोगलाई गराएको छ। सो अवधिमा पार्टीको आधा झण्डा झुकाउने तथा कुनै पनि तहका औपचारिक कार्यक्रम, भेला वा सम्मेलन नगर्ने निर्णय गरिएको पत्रमा उल्लेख छ।
साथै, दाहालको तेह्रौँ पुण्यतिथिका दिन सबै जिल्ला कार्यसमितिले शोकसभा आयोजना गर्ने निर्णय पुस २६ गते बिहान ९ बजे बसेको केन्द्रीय कार्यसमिति बैठकले गरेको जनाइएको छ।
विशेष महाधिवेशन पक्षसँग निरन्तर संवाद भए पनि सहमति हुन नसकेपछि देउवा पक्ष निर्वाचन आयोग पुगेको जनाइएको छ। उता, विशेष महाधिवेशन पक्षधर नेतृत्व चयन गरी अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा रहेको बेला देउवा पक्षले महाधिवेशन नभएको व्यहोरा उल्लेख गर्दै पत्र दर्ता गराएको हो।
