०२ माघ, २०८२
कंचनपुर :

विगतका निर्वाचनहरूमा तत्कालीन व्यवस्था र नीतिप्रति असहमति जनाउँदै निर्वाचन बहिष्कार गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) यसपटक भने निर्वाचन प्रक्रियामा सहभागी हुने भएको छ। आफू जनतासँग जोडिएको पार्टी भएको दाबी गर्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले देशको आवश्यकताअनुसारका नीति तथा योजना आफूसँग रहेको उल्लेख गर्दै निर्वाचनमा भाग लिने घोषणा गरेको हो।
प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत कञ्चनपुर क्षेत्र नम्बर ३ बाट सिफारिस गरिएका उम्मेदवारमध्ये नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज विष्णु प्रकाश उपाध्याय पनि रहेका छन्। उपाध्याय २०६४ सालको स्ववियु निर्वाचनमा निर्वाचित नेता हुन्। उनी सुदूरपश्चिम विश्वविद्यालय आन्दोलनका संस्थापक विद्यार्थी नेता तथा आन्दोलनका क्रममा घाइतेसमेत भएका थिए। शैक्षिक सुधार आन्दोलनका धरोहरका रूपमा परिचित उपाध्यायले चर्चित पूर्व विद्यार्थी नेताको छवि बनाएका छन्। मिटरब्याज, लघुवित्त तथा बैंकहरूको अवैध लिलामी, अन्याय–अत्याचार, भूमिहीन सुकुम्बासीका समस्या, समानता र स्वतन्त्रतासहितको समाजवादका पक्षमा निरन्तर संघर्षरत रहँदै आएका उपाध्याय कञ्चनपुर क्षेत्र नम्बर ३ का अन्य उम्मेदवारका लागि बलियो चुनौतीका रूपमा देखिएका छन्।

पछिल्लो समय कञ्चनपुरमा बैंकले लिलामी गर्न लागेका झलारीका अजय विश्वकर्माको तीनतले घर, पुनर्वासका पासाङ तामाङको तीनतले घर तथा पुनर्वासकै गगन सुनारको एक बिघा जमिन उपाध्यायको नेतृत्वमा नेकपा (माओवादी) ले नियन्त्रणमा लिएको थियो। यसैगरी, दुई वर्षअघि पुनर्वासमा एनआईसी लघुवित्तले लिलामी गर्न लागेको किसानका झण्डै चार दर्जन फाइल दुई दिनसम्म नियन्त्रणमा लिएर लिलामी नगर्ने सर्तमा सहमति गराइएको घटनाले पनि उपाध्यायलाई चर्चामा ल्याएको थियो। लागू औषध दुरुपयोग नियन्त्रण, जिल्लामा हुने भ्रष्टाचार, भन्सार नाका सहजीकरणलगायत विषयमा पटक–पटक आवाज उठाउँदै आएका उपाध्याय आगामी निर्वाचनमा कञ्चनपुर–३ मा प्रभावशाली उम्मेदवारका रूपमा अगाडि बढिरहेका छन् ।
