०४ पुस, २०८२
कञ्चनपुर:

कञ्चनपुरको भगतपुरस्थित कारागारभित्र कैदीबन्दीहरू बिच एक आपसमा कुटाकुट भएको छ । उक्त घटनापछि कारागारको अवस्था केही समय असामान्य बनेको थियो भने घाइते भएका कैदीबन्दीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।घटनामा ९जना कैदी बन्दि घाइते भएका छन् । उनीहरूलाई आवश्यक उपचारका लागि अस्पताल लगिएको कारागार प्रशासनले जनाएको छ ।
कैदीबन्दीहरूका अनुसार, जेलभित्र कैदीहरूबाटै छानिएका नाइके, भाइ–नाइके तथा चौकीदारहरूले निवेदन, मुद्दा तथा प्रशासनिक कामको नाममा मोटो रकम असुल गर्ने गरेका थिए । साथै उनीहरूले जेलभित्र मदिरा लगायत प्रतिबन्धित सामग्रीहरू पनि पैसाका भरमा पुर्याउने गरेको आरोप कैदीबन्दीहरूले लगाएका छन्।यही विषयलाई लिएर कैदीबन्दीहरू र नाइके, चौकीदारबिच विवाद चर्किँदै जाँदा कुटाकुटको अवस्था सिर्जना भएको बताइएको छ ।
घटनापछि कैदीबन्दीहरूले नाइकेलगायतको सरुवा गर्नुपर्ने, कारागारभित्र सञ्चालनमा रहेको क्यान्टिनको ठेक्का रद्द गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका छन्।कारागारको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जेलर बन्दना सुवेदीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ। हाल स्थिति नियन्त्रणमा रहेको सुरक्षा निकायले जनाएको छ ।
