ब्रेकिङ न्युज

Default Placeholder

राजबहादुर चन्द

महेन्द्रनगर:
यम पञ्चकको पाँचौ दिन अर्थात तिहारको अन्तिम दिन, कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई र दाजु भाइले दिदीबहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान आदि मनपर्ने कुरा खुवाउने, दिदी बहिनीहरूलाई दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहेको छ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको र दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइ-पूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दीप, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामनामा अन्तर्निहित छ ।


भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई भेट्न आएका थिए। यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा बस्ने गरेको पौराणिक कथनहरुमा उल्लेख गरिएको छ, त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाईन्। त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चक भरि यमुनाको घरमा बसे। भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन्। त्यहीबेलादेखि भाइटीकाको सुरूवात भएको विश्वास गरिन्छ।
नेपाल लगायत हिन्दुहरु बसोबास गर्ने अन्य देशहरुमा समेत भोलीको दिनलाई भाइटिकाको रुपमा मनाउने गरिन्छ, यसले सामाजिक सद्भावका साथ एक आपसमा परम्पराको माध्यमकै कारण भेटघाट हुने र माया रहिरहने विश्वास समेत गरिन्छ ।
भोलीको दिन भाइ-बहिनीहरु एकै ठाउँमा जम्मा भइ सुख-दुखका कुराहरु साटासाट गर्ने, भाइटीका गरि आशीर्वाद लिने तथा दिने, भाइले दिदी-बहिनीलाई आफुले सकेको दक्षिणा तथा दान गर्ने भने दीदीहरुले समेत दाजु-भाइको पुजा गरि माला लगाइदिने र आशीर्वाद दिने गरेको पाइन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: